एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं महाधिवेशन भोलिदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । ‘जेनजी’ आन्दोलनपछि निर्धारित समयभन्दा एक वर्षअघि नै हुन लागेको यो महाधिवेशन आगामी २९ गतेसम्म चल्नेछ । विधान महाधिवेशनले नीतिगत विषय टुंग्याइसकेकाले यसपटकको कुम्भमेला नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ ।
महाधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बिहीबार सम्पादकहरूसँगको संवादमा ओलीले आफू पुनः अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् । उता वरिष्ठ उपाध्यक्ष पोखरेलले भने नेतृत्व हस्तान्तरणको मुद्दालाई प्रमुख प्राथमिकता बनाएर चुनौती पेस गरेका छन् ।
मुलुकको युवाशक्तिलाई स्थापित गर्ने दायित्व बोकेको यो महाधिवेशनप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढेको छ । राजनीतिक विश्लेषक एवं समाजशास्त्री विदुर तिमल्सिनाले जेनजी आन्दोलनपछिको अवस्थामा प्रतिनिधिको मनोभावनाले नतिजा निर्धारण गर्ने बताए । उनले भने, ‘टाउको गनेर हुँदैन, प्रतिनिधिको मनोभावनाले निर्वाचनमा हारजितको तय गर्छ ।’ उनले पद नपाएपछि गुट बदल्ने र पार्टी चोइटिने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई असर गरेको टिप्पणी गरे ।
महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनीत गरी २ हजार १ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कुल ८१ वटा जिल्ला कमिटीबाट प्रतिनिधि चयन भइसकेको जानकारी दिए ।
कार्यक्रम स्थल सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुला चौरमा करिब २ लाख जनसहभागिता गराउने एमालेको तयारी छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले मञ्च व्यवस्थापनलगायतका अत्यावश्यक काम सकिएको र महाधिवेशनलाई उत्सवका रूपमा मनाउन लागिएको बताए ।
नेतृत्वका आकांक्षीहरूले आन्तरिक लबिङ तीव्र पारेका छन् । युवा संघ, अनेरास्ववियु तथा महिला संघका नेताहरू केन्द्रीय कमिटीमा आउन कसरत गरिरहेका छन् भने स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरू पदाधिकारीमा उक्लिने दाउमा छन् । विधान महाधिवेशनले पदाधिकारी संख्या १५ सदस्यीय बनाउने निर्णय गरे पनि आकांक्षी व्यवस्थापन गर्न संख्या बढाउनुपर्ने दबाब ओली पक्षमा परेको विश्लेषण गरिएको छ ।
विसं २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिस्ट पार्टीमा २०७१ सालको नवौं महाधिवेशनबाट ओली पहिलो पटक अध्यक्ष बनेका थिए । २०७८ को दसौं महाधिवेशनबाट दोस्रो कार्यकाल सम्हालेका उनी अहिले तेस्रो पटक नेतृत्वका लागि मैदानमा छन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया