पर्वतीय महोत्सव र जलवायु संकट

नेपालका पर्वतमाला केवल भौगोलिक संरचना मात्र होइनन् स हाम्रा सांस्कृतिक पहिचान, जीवनशैली र राष्ट्रिय अर्थतन्त्रका आधारस्तम्भ हुन् । पछिल्ला दशकहरूमा ती हिमशृङ्खलाहरू जलवायु परिवर्तनका कारण जोखिमपूर्ण अवस्थामा पुगेका छन् । नेपाल पर्वतारोहण संघद्वारा अन्तराष्ट्रिय पर्वतिय दिवसको अवसरमा पोखरामा आयोजित १० औँ पर्वतीय महोत्सवले यही सन्देशलाई विश्वसामु पुर्याउनु पर्ने हुन्छ । यो महोत्सवले पर्वतीय क्षेत्रले सामना गरिरहेका चुनौती, सम्भावना र समाधानका उपायहरूलाई वैज्ञानिक अनुसन्धान र व्यावहारिक अनुभवका आधारमा बहस गर्ने महत्वपूर्ण प्लेटफर्म तयार गरेको छ ।
ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका प्रभावहरू विशेषगरी पर्वतीय क्षेत्रमा अत्यन्तै तीव्र रूपमा देखिन थालेका छन् । हिमालको काखमा बसेका गाउँ–बस्ती मात्र होइन, तिनको तल बग्ने नदी, कृषि प्रणाली, पर्यटन क्षेत्र, जलविद्युत् उत्पादन र मानिसको दैनन्दिन जीवन सबै प्रभावित भइरहेका छन् । घट्दो हिमपात, बढ्दो हिउँ पग्लने दर, हिमताल फुट्ने सम्भावना, अनियमित वर्षा, वेमौसमी बाढी–पहिरो जस्ता घटनाहरू अहिले सामान्य जस्तै दोहोरिन थालेका छन् । यिनै संकटहरू नै महोत्सवले विश्वको ध्यानाकर्षण गराउने मुख्य विषय हुन् ।
पर्वतीय क्षेत्रका प्रमुख संकटहरू
हिमनदीको तीव्र पग्लने दरः वैज्ञानिक अध्ययनहरूका अनुसार हिमनदीहरू वर्षैभरि बढ्दो तापक्रमको चपेटामा छन् । सामान्य तापक्रम वृद्धिले पनि हिमाली क्षेत्रमा ठूलो प्रभाव पार्ने भएकाले हिमनदी पग्लने गति अत्यन्तै तीव्र बन्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव नदीहरूको बहावमा देखिन्छ । कहिले अत्यधिक बाढी, कहिले दीर्घ सुक्खा हुने परिघटनाले तल्लो क्षेत्रमा बस्ने समुदाय तथा कृषि प्रणाली गम्भीर रुपमा प्रभावित भएका छन् ।
हिमताल फुट्ने जोखिममा वृद्धिः देशका १४६६ हिमतालमध्ये २१ वटालाई सम्भावित जोखिम वर्गमा वर्गीकृत गरिएको छ । तापक्रम बढेसँगै हिमालयको काखमा रहेका यी तालहरू अस्वाभाविक रूपमा विस्तार भइरहेका छन् । सन् २०२४ को अगस्तमा खुम्बु र २०२५ को जुलाईमा नेपाल–चीन सीमामा भएका बाढीजन्य घटनाहरू पग्लँदै गएका हिमतालहरूको अस्थिरताको प्रत्यक्ष परिणाम हुन् । विज्ञहरूका अनुसार आगामी दशकमा (हिमताल फुट्ने बाढी) को जोखिम झनै बढ्नेछ र हिमालको तल्लो भागका बस्ती, पुल, सडक, पर्यटन मार्ग र जलविद्युत् परियोजनाहरूलाई ठूलो क्षति पुर्याउन सक्छ ।
वेमौसमी वर्षा, बाढी र पहिरोः पहिले असार/साउनमा सीमित हुने मनसुन अब अनियमित रूपमा फैलिन थालेको छ । हिउँदमा वर्षा, असारमा लामो खडेरी र कहिलेकाहीँ एकै दिनमा असिमित र अनियन्त्रित वर्षा हुने घटनाहरू बढिरहेका छन् । यस्तो अनियमित मौसमका कारण पहिरो, जमिन भासिने, खेतिपाती नष्ट हुने, सडक अवरुद्ध हुने र जनधन हानी हुने घटनाहरू सामान्यजस्तै हुन थालेका छन्। काठमाडौं उपत्यका, मधेश र पूर्वी नेपालमा २०२४ र २०२५ को अक्टोवरमा आएको आकस्मिक वर्षा, बाढि र पहिरो जलवायु परिवर्तनका कारण उत्पन्न भएका क्लाउडब्रस्ट फेनोमेनन हुन् ।
छलफल हुनुपर्ने विषयहरू
वैज्ञानिक अनुसन्धान र डेटा प्रणाली सुदृढीकरणः विज्ञहरूको भनाइ अनुसार पर्वतीय क्षेत्रमा बढ्दै गएको जलवायु संकटलाई प्रभावकारी रूपमा सामना गर्न वैज्ञानिक अनुसन्धान र तथ्य–डेटाको बलियो आधार आवश्यक हुन्छ । हिमनदीको पग्लने दरको नियमित मापन, जोखिमयुक्त हिमतालहरूको निरन्तर अनुगमन, वर्षा, तापक्रम तथा नदीको बहाव सम्बन्धी विस्तृत डिजिटल डेटाबेस स्थापना जस्ता काममा नेपालले अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग अझ गहन सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता छ ।
जलवायु–स्मार्ट पूर्वाधार निर्माणः महोत्सवले दिगो र जलवायु–अनुकूल पूर्वाधार निर्माणको महत्त्वलाई स्पष्ट रूपमा उजागर गर्नुपर्छ । बाढी तथा पहिरो प्रतिरोधी सडक तथा मार्ग निर्माण, सुरक्षित र दिगो पुलका संरचना विकास, सम्भावित जोखिमका लागि चेतावनी प्रणालीको विस्तार र हिमाली क्षेत्रमा रहेका जोखिमग्रस्त बस्तीहरूको सुरक्षित स्थानतर्फ पुनर्वास जस्ता उपायहरूले विपद् जोखिमलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।
पर्वतीय पर्यटनलाई ‘हरित पर्यटन’ मा रुपान्तरणः पर्वतीय पर्यटन नेपालका लागि आय, रोजगारी र अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण स्रोत हो, तर यसको अनियन्त्रित विस्तारले वातावरणमा गम्भीर दबाब सिर्जना गरेको छ । पोखरामा सञ्चालित पर्वतीय महोत्सवले पर्यटनलाई ‘हरित पर्यटन’ मा रूपान्तरण गर्न आवश्यक कदमहरू उजागर गर्न तर्फ केन्द्रित हुनुपर्छ । यसका लागि ऊर्जा–दक्ष साधन, नवीकरणीय ऊर्जा, कम–कार्बन यातायात र प्लास्टिकको न्यूनतम प्रयोग गर्दै कार्बन–न्युट्रल पर्यटन प्रवर्द्धन गर्नु आवश्यक छ ।
फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सफाइ अभियान, स्रोतमै फोहोर छुट्याउने, पुनः प्रयोग र पुनर्चक्रण प्रणाली लागू गर्नुपर्छ र यात्रु तथा व्यवसायीलाई यसबारे जिम्मेवार बनाउनुपर्छ । स्थानीय संस्कृति, परम्परा, होमस्टे, सामुदायिक लज, हस्तकला र कृषि–उत्पादन प्रवर्द्धनले पर्यटनलाई दिगो बनाउँछ र स्थानीय आर्थिक समृद्धि बढाउँछ । नवीकरणीय ऊर्जा र हरित पूर्वाधार जस्तै सौर्य ऊर्जा, माइक्रो–हाइड्रो, उर्जासक्षम भवन, जल व्यवस्थापन र हरित यातायातले पर्यटनलाई दीर्घकालीन रूपमा सुरक्षित र पर्यावरणमैत्री बनाउँछ ।
‘हरित पर्यटन’ केवल वातावरण संरक्षण मात्र होइन, पर्वतीय क्षेत्रको सुन्दरता, संस्कृति र समुदायको जीवनस्तरलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी रणनीति हो र यसबाट नेपालका हिमाली गन्तव्यहरू जलवायु संकटबीच पनि सन्तुलित र दिगो रूपमा विकास हुन सक्छन् ।
स्थानीय समुदायलाई केन्द्रमा राखेर समाधान विकासः पर्वतीय क्षेत्रमा बसोबास गर्ने समुदायहरू जलवायु परिवर्तनका पहिलो पीडित मात्र होइनन्, समाधानका सबभन्दा प्रभावकारी साझेदार पनि हुन् । स्थानीय ज्ञानलाई आधुनिक वैज्ञानिक विधिसँग समायोजन गर्ने, महिला र युवा सहित स्थानीय समुदायलाई जलवायु अनुकूलन सम्बन्धी सीप र तालिम प्रदान गर्ने, वैकल्पिक आयआर्जनका अवसर सिर्जना गर्ने तथा कृषि क्षेत्रमा जलवायु–स्मार्ट प्रविधि प्रयोग गर्ने जस्ता पहलहरूले स्थानीय समुदायलाई सशक्त बनाउँदै उनीहरूको जीवनयापनलाई सुरक्षित र दिगो बनाइदिन्छन् ।
अन्तर्राष्ट्रिय सहकार्य र जलवायु वित्तको सुनिश्चितताः विज्ञहरूको एकमतमा नेपालले जलवायु परिवर्तन नियन्त्रणभन्दा बढी अनुकूलनमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता छ, किनकि औद्योगिक प्रदूषणमा नेपालको योगदान नगण्य भए पनि असर भने अत्यधिक भोगिरहनुपरेको छ । त्यसैले महोत्सवले अन्तर्राष्ट्रिय जलवायु कोषबाट पर्याप्त वित्तीय समर्थन जुटाउनुपर्ने माग बलियो रूपमा उठाउनुपर्ने हुन्छ । साथै पर्वतीय देशहरूबीच साझा एजेन्डा निर्माण गर्ने, जलवायु न्यायको सिद्धान्तलाई विश्व समुदायमा मजबुत रूपमा उठाउने र जलवायु संकटका प्रभावअनुसार सहुलियत र सहयोग सुनिश्चित गर्ने विषयहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।
सरकारको प्रयास
नेपालमा तिनै तहका सरकारले पर्वतीय क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र दिगो विकासका लागि महत्वपूर्ण प्रयासहरू अघि बढाएका छन् । नेपाल सरकारले राष्ट्रिय अनुकूलन योजना, राष्ट्रिय रूपमा निर्धारित योगदान, हरित ऊर्जा विस्तार र हिमनदी तथा हिमताल अनुगमन कार्यक्रममार्फत जोखिम मूल्यांकन, प्रारम्भिक चेतावनी प्रणाली र आकस्मिक उद्धार तयारीमा प्रगति गरेको छ । जलवायु वित्तिय संरचना मार्फत अन्तर्राष्ट्रिय स्रोत र सहकार्य जुटाउन पनि सक्रिय प्रयास भइरहेको छ ।
गण्डकी प्रदेश सरकारले दिगो पर्यटन, वातावरण संरक्षण, सुरक्षित बसोबास, नदी नियन्त्रण, पहिरो रोकथाम, पदमार्ग सुधार, हरित पर्यटन प्रवर्द्धन, नवीकरणीय ऊर्जा आधारित पूर्वाधार र स्थानीय उत्पादनको प्रोत्साहनमार्फत प्रदेशस्तरीय जलवायु अनुकूलन र समुदाय सशक्तिकरणमा पहल गरेको छ । यी पहलहरूले पर्वतीय क्षेत्रलाई सुरक्षित, दिगो र जलवायु–अनुकूल बनाउन महत्वपूर्ण आधार तयार पार्ने छ । विशेषज्ञहरूको भनाइ अनुसार, पर्वत जोगाउन सरकार, स्थानीय समुदाय, वैज्ञानिक, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच समन्वित सहकार्य नै सबैभन्दा प्रभावकारी उपाय हो ।
महोत्सवले दिनुपर्ने सन्देश
पर्वतीय महोत्सव केवल एउटा सांस्कृतिक उत्सव वा औपचारिक कार्यक्रम मात्र होइनस यसले विश्व समुदायलाई जलवायु संकट र त्यसले मानव जीवनमा पारेका प्रतिकूल प्रभावबारे चेतावनी दिने शक्तिशाली मञ्चका रूपमा उभिनुपर्छ । हिमाली क्षेत्र गभीर संकटमा रहेको आजका तथ्य र दृश्यहरूले स्पष्ट औल्याएका छन् । पर्वतहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिमताल फुट्ने जोखिम बढ्दै गएको छ, मौसम चक्र अस्वाभाविक बनेको छ, र यसका कारण हाम्रो भविष्य क्रमशः असुरक्षित बन्दै गएको छ । यी यथार्थतर्फ विश्वको ध्यानाकर्षण गर्न महोत्सव सक्षम हुनुपर्छ ।
जलवायु परिवर्तनलाई भविष्यमा आउने समस्या भनेर हेर्ने समय अब सकिएको छस यो वर्तमान समयकै कठोर संकट हो । यसलाई तत्कालीन र दीर्घकालीन दुवै खालका उपायमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता अत्यावश्यक भइसकेको छ । पर्वतीय क्षेत्रको संरक्षण नगरेसम्म नेपालका नदी प्रणाली, कृषि उत्पादन, ऊर्जा विकास, पर्यटन उद्योग तथा समग्र जनजीवन गभीर जोखिममा पर्ने विभिन्न अध्ययनहरूले संकेत गरेका छन् । यसैले स्थानीय समुदाय, राष्ट्रिय सरकार, वैज्ञानिक तथा अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय निकायहरू एकसाथ उभिएर सहकार्य गर्नुपर्नेसन्देश महोत्सवले प्रस्तुत गर्नु आवश्यक छ ।
पर्वतीय क्षेत्रको संरक्षण, जलवायु अनुकूलन रणनीति र दिगो भविष्य निर्माणका लागि एकीकृत प्रयास अब अपरिहार्य भइसकेको छ । जलवायु संकटका प्रभावहरू तीव्र रूपमा देखिन थालेको आजको अवस्थामा पर्वतिय क्षेत्र जोगाउने जिम्मेवारी केवल सरकारको मात्र होइनस यो सम्पूर्ण मानव समुदायको साझा कर्तव्य हो । नेपालका हिमालहरू सुरक्षित राख्न, भावी पुस्ताका लागि दिगो वातावरण निर्माण गर्न, र हाम्रो जलस्रोत, कृषि, पर्यटन तथा जीवनयापनका आधारहरू संरक्षण गर्न सबैको सामूहिक प्रयास अनिवार्य छ । हिमाल सुरक्षित रहे मात्र हाम्रो भविष्य सुरक्षित रहने सन्देश विश्वलाई प्रवाह गर्न महोत्सव सक्षम हुनुपर्छ ।
लेखक बराल शिक्षा, जलवायु तथा वातावरण, सूचना प्रविधि र समसामयिक विषयमा कलम चलाउछन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया