नौलो घुम्ती नेपालद्वारा मादीमा सञ्चालित परियोजनाको अनुगमन, विद्यार्थीलाई न्यानो कपडा वितरण

समाधान संवाददाता २०८२ मंसिर २७ गते १६:५०

पोखरा । नौलो घुम्ती नेपालले गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा कास्कीको मादी गाउँपालिकामा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजना’ को उच्चस्तरीय अनुगमन गरेको छ ।

संस्थाका अध्यक्ष सुरेन्द्र थापामगरको नेतृत्वमा रहेको टोलीले बिहीबार र शुक्रबार मादी गाउँपालिकाको वडा नं ९, १० र ११ मा पुगेर परियोजनाका गतिविधिहरूको स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीमा संस्थाका अध्यक्ष थापामगरसहित वरिष्ठ उपाध्यक्ष मंगलबहादुर नेपाली, कार्यसमिति सदस्य नारायणप्रसाद पौडेल र परियोजनाका कर्मचारीहरूको सहभागिता थियो । भ्रमणका क्रममा टोलीले ५ वटा सामुदायिक विद्यालयमा पुगी कक्षाकोठा व्यवस्थापनको अवलोकन गर्नुका साथै शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया गरेको थियो । सो अवसरमा परियोजना अन्तर्गत प्रायोजित बालबालिकाहरूलाई जाडोका लागि ‘विन्टर किट’ (ब्ल्यांकेट) समेत हस्तान्तरण गरिएको थियो ।

Advertisement

टोलीले परियोजना क्षेत्रभित्रका स्थानीय स्वास्थ्य संस्थाहरू र तोगी लम्टारी कफी उत्पादक सहकारी संस्था लिमिटेडको पनि अनुगमन तथा अन्तरक्रिया गरेको छ । साथै, प्रायोजित बालबालिकाको घरमै पुगेर अभिभावकहरूसँग भेटघाट गरिएको थियो । परियोजना कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्ने, लाभग्राहीसँगको सम्बन्ध सुमधुर बनाउने, ज्ञान आदानप्रदान गर्ने र समुदाय स्तरका सवाल तथा चुनौतीहरू बुझ्ने उद्देश्यले यो अनुगमन गरिएको संस्थाले जनाएको छ ।

के हो एकीकृत सामुदायिक विकास परियोजना ?
नौलो घुम्ती नेपालले सन् २०१६ देखि गुड नेभर्स इन्टरनेसनल नेपालको सहयोगमा कास्कीका मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा यो परियोजना सञ्चालन गर्दै आएको छ । स्थानीय पालिकाहरूको समन्वयमा संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जीविकोपार्जन र बाल संरक्षणका क्षेत्रमा एकीकृत रूपमा काम गरिरहेको छ ।

Advertisement

परियोजनाले जिल्लाका ४२ साझेदार सामुदायिक विद्यालयका १ हजार ७३ जना अति विपन्न बालबालिकालाई शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग गर्दै आएको छ । यसका साथै विद्यालयको भौतिक सुधार, लाइबेरी, विज्ञान र गणित प्रयोगशाला स्थापना, प्रविधिमैत्री शिक्षण सामग्री सहयोग र बाल क्लब परिचालन जस्ता कार्यहरू गर्दै आएको छ ।

जीविकोपार्जनतर्फ अभिभावकहरूको आर्थिक अवस्था उकास्न कार्यक्षेत्रभित्रका ६ वटा सहकारीमार्फत घुम्ती कोष परिचालन, कृषि औजार तथा बिउबिजन सहयोग, र सहकारीको क्षमता विकासमा संस्था सक्रिय छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा ३९ वटा स्वास्थ्य संस्थाहरूमा उपकरण सहयोग, भौतिक स्तरोन्नति, स्वास्थ्य शिविर सञ्चालन र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा परियोजनाले टेवा पु¥याउँदै आएको छ । बाल संरक्षणका सवालमा पनि वडा तथा पालिका स्तरीय संयन्त्रहरूसँग मिलेर संस्थाले काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया