सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

समाधान संवाददाता २०८२ मंसिर २७ गते १८:१७

काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । फाइनल खेलमा एकतर्फी नतिजा निकाल्दै लुम्बिनी नयाँ च्याम्पियन बनेको हो भने सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो । सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै उपाधि उचाल्यो ।

Advertisement

लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्ला ६ खेलमा लगातार जित हात पारेको छ । लिगको सुरुवातमा उतारचढाव बेहोरेको लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराए पनि त्यसपछि लगातार तीन खेलमा हार बेहोरेको थियो । एक समय लिग चरणबाटै बाहिरिने खतरामा पुगेको टोलीले त्यसपछि सानदार पुनरागमन गर्दै उपाधि नै कब्जा गर्न सफल भयो ।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले विष्फोटक सुरुवात गरे । उनले सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले पहिलो ओभरमै २७ रन जोडेको थियो । दिनेशले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाए ।

Advertisement

पहिलो विकेटका लागि दिनेश र डार्सी सर्टले ४ ओभरमै ५८ रनको साझेदारी गरे । तर पाँचौँ ओभरमा हेमन्त धामीले सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडे । सर्ट १४ बलमा १३ रन बनाएर बोल्ड भए भने दिनेश सोही ओभरको तेस्रो बलमा स्कट कुगेलेइनबाट क्याचआउट भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोएल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । यो एनपीएलको फाइनल इतिहासकै कम योगफल हो भने समग्रमा संयुक्त रूपमा चौथो कम स्कोर हो ।

सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले ५१ बल खेल्दै १ चौका प्रहार गरे । चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानले २५ रनको साझेदारी गरे । कप्तान दीपेन्द्रले २० बलमा १ छक्कासहित १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।

सुदूरपश्चिमको इनिङ्स ध्वस्त पार्न लुम्बिनीका बलरहरू हाबी भए । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले ३–३ विकेट लिए ।

रोहितले ११ औँ ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभरमा जम्मा १२ रन खर्चिए ।

रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

तपाईको प्रतिक्रिया