कनेक्टिभिटी, सिँचाइ र पर्यटन बिना नेपाल अगाडि बढ्दैन : मन्त्री कुलमान घिसिङ

समाधान संवाददाता २०८२ मंसिर २७ गते १९:४३

पोखरा ।
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सिँचाइ, कनेक्टिभिटी र पर्यटन पूर्वाधारको समग्र विकास नगरेसम्म नेपालको दिगो विकास सम्भव नहुने बताएका छन् ।

शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय भेला कार्यक्रममा बोल्दै मन्त्री घिसिङले अहिले देशले भोगिरहेको मुख्य समस्या पहिचान गरेर समाधानतर्फ अघि नबढे विकासको आधार तयार नहुने स्पष्ट पारे ।

‘खेती गर्न सिँचाइ छैन, पानी छैन । किसानलाई सिँचाइ दिनुपर्ने अवस्था छ तर बजेट छुट्टिएको छैन । काम गर्नुपर्ने ठाउँमा बजेट र ठेक्काको प्रक्रिया छुट्टै–छुट्टै हुँदा समस्या झन जटिल बनेको छ,’ उनले भने ।

Advertisement

मन्त्री घिसिङले वनसम्बन्धी कानुन र जग्गा अधिग्रहणका झन्झटले विकास आयोजना अघि बढाउन ठूलो अवरोध सिर्जना गरिरहेको बताए । ‘सरकारी जग्गा प्रयोग गर्दा पनि विकासमा कठिनाइ छ । यी सबै समस्याको पहिचान गरेर समाधान नगरेसम्म देश अगाडि बढ्न सक्दैन,’ उनले भने ।

पोखरालाई नेपालको प्रमुख पर्यटन नगरीका रूपमा चित्रण गर्दै मन्त्री घिसिङले पर्यटन पूर्वाधार सुदृढ नगरी पर्यटक संख्या वृद्धि सम्भव नहुने बताए । ‘हामी १०–२० लाख होइन, ५० लाख पर्यटकको कुरा गर्छौं । तर आधार के छ ? अहिले पनि १०–१५ लाख पर्यटक मात्रै आउँछन्,’ उनले प्रश्न गरे । उनका अनुसार नेपालले भारत र चीनजस्ता छिमेकी देशबाट मात्रै करोडौं पर्यटक भित्र्याउन सके जीडीपीमा ठूलो प्रभाव पर्न सक्छ । तर त्यसका लागि होटल, सडक, हवाई सेवा, सांस्कृतिक तथा पुरातात्विक संरचना पर्याप्त हुनुपर्ने उनले बताए ।
‘पर्यटक आएपछि बस्ने संरचना छ कि छैन ? हाम्रो पुरातत्व के छ ? हरेक वर्ष पर्यटक आउँछन् तर हेर्ने पुरातात्विक सम्पदा छैन,’ उनले भने, ‘पुरातत्व निर्माण र संरक्षणमा हामी गम्भीर हुनुपर्छ,’ उनले भने ।

Advertisement

मन्त्री घिसिङले पोखरामा धार्मिक, साहसिक, व्यापारिक र सांस्कृतिक पर्यटन सबै सम्भावना रहेको बताए । मुक्तिनाथ, साहसिक पर्यटन, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई योजनाबद्ध रूपमा प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । ‘पोखरा सुन्दर सहर मात्रै होइन, बहुआयामिक पर्यटन केन्द्र हो । यसलाई व्यवस्थित रूपमा अघि बढाउन सके ठूलो आर्थिक लाभ लिन सकिन्छ,’ उनले भने ।

मन्त्री घिसिङले पोखराको विकासका लागि सडक, हवाई र अन्तरदेशीय कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण भएको बताए । उनले काठमाडौँ–पोखरा सडकलाई छोटो र सहज बनाउन मुग्लिन–पोखरा सडक आयोजनामा तीव्रता आएको उल्लेख गरे । ‘लामो समय अल्झिएको यो सडक अब सन्तोषजनक चरणमा पुगेको छ,’ उनले भने ।

काठमाडौँ–नौबिसे–मुग्लिन खण्डलाई पाँच घण्टा बन्द गरेर काम गरिरहेको उनले सुनाए । त्यो सडक वल्र्ड बैंकको सहयोगमा ‘स्मार्ट सेफर रोड’ अवधारणामा काम भइरहेको जानकारी पनि उनले दिए । त्यस्तै, पोखरा–बुटवल कनेक्टिभिटीलाई दुईदेखि तीन घण्टामा झार्ने लक्ष्यसहित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको सहयोगमा नयाँ रुट विकास भइरहेको उनले बताए ।

चीनसँगको कनेक्टिभिटीलाई समेत प्राथमिकतामा राखिएको मन्त्री घिसिङको भनाइ छ । ‘तमु–जोमसोम हुँदै कोरला नाकासम्मको सडक स्तरोन्नति अत्यन्तै महत्वपूर्ण छ । यसले चीनसँगको व्यापार र पर्यटन दुवैलाई मजबुत बनाउँछ,’ उनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा प्रयोग सुरु हुन नसकेको स्वीकार गर्दै उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा जोड दिए । ‘जापान, युरोपबाट सीधा पोखरा उडान सम्भव भए पर्यटनमा क्रान्तिकारी परिवर्तन आउँछ,’ उनले भने ।

पोखरालाई हाइड्रोपावर हबको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको मन्त्री घिसिङले बताए । कालीगण्डकी, मस्र्याङ्दी र सेती करिडोरमा तीन हजार मेगावाटभन्दा बढीका आयोजना विभिन्न चरणमा रहेको जानकारी उनले दिए ।

ट्रान्समिसन लाइन सुदृढीकरणका लागि युरोपियन युनियन, जर्मनी, जापानलगायत अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर ठूलो लगानीमा काम अघि बढेको उनले बताए ।

‘पोखरा, भरतपुर र बुटवल–भैरहवा त्रिकोणलाई बलियो विद्युत् नेटवर्कमार्फत ग्रीन इकोनोमी हब बनाउने योजना अघि बढिसकेको छ,’ उनले भने । विद्युतीय सवारी चार्जिङ स्टेशन, ट्राम प्रणाली र स्मार्ट सिटी अवधारणामा समेत अध्ययन भइरहेको जानकारी उनले दिए । मन्त्री घिसिङले अन्त्यमा विकासका सबै क्षेत्र आपसमा जोडिएको उल्लेख गर्दै भने, ‘सिँचाइ, सडक, ऊर्जा, पर्यटन र कनेक्टिभिटी सबै एक–अर्कासँग सम्बन्धित छन् । यी समस्या पहिचान गरेर समाधान गर्दै अघि बढ्न सके मात्रै नेपाल विकासको बाटोमा जान सक्छ ।’

तपाईको प्रतिक्रिया