टेनिसमा शिभालीले रचिन् इतिहास

समाधान संवाददाता २०८२ मंसिर २७ गते १९:४५

पोखरा ।
पोखरामा सम्पन्न आइटिएफ जे ३० वल्र्ड टेनिस टुर सर्किट–२ मा शिभाली गुरुङले दोहोरो उपाधि जितेकी छन् । १४ वर्षीया शिभालीले आफ्नो उमेर समूहमा इतिहास रच्दै गल्र्स सिंगल्स र डबल्स दुवैतर्फ उपाधि हात पारेकी हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार सम्पन्न सर्किट–१ मा पनि उनले दोहोरो उपाधि जितेकी थिइन् । जे–३० सर्किट १ र २ मा गल्र्स सिंगल्स र डबल्स दुवैमा जित हासिल गरेर उनले कुल ७५ अंक बटुल्न सफल भइन् ।

जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको तयारीमा रहेकी शिभालीले शनिबार भएको फाइनलमा ताइपेईकी के–ची सुलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ६–२ ले जितेर दबाब सिर्जना गरेकी उनले दोस्रो सेट ६–१ ले आफ्नो पक्षमा पारिन् ।
त्यसैगरी गल्र्स डबल्सतर्फ नेपालकी शिभाली र ताइपेईकी के–ची सुको जोडीले भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिलको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा हराउँदै उपाधि जित्यो ।

Advertisement

ब्वाइज सिंगल्सतर्फ ताइपेईका नम्बर एक सिडिङ खेलाडी टिङ हो याङ विजयी भए । एक–एक सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ ‘रिटायर्ड हर्ट’ हुँदै कोर्टबाट बाहिरिएपछि याङले उपाधि जितेका हुन् । पहिलो सेट युल होले ४–६ ले जितेका थिए भने दोस्रो सेट याङले ६–४ ले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेट चलिरहँदा युल हो घाइते भएर मैदान छाड्न बाध्य भए ।

ब्वाइज डबल्समा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङले भारतीय जोडी प्रतीक सेओरन र अनुज अभिजित तहसिलदारलाई ६–३ र ७–६ (४) ले पराजित गर्दै उपाधि जिते ।
दुई सातासम्म लगातार चलेको प्रतियोगितामा १६ देशका ८० खेलाडी सहभागी थिए । आठौँ संस्करणको यो प्रतियोगिता सम्पन्न गर्न १८ लाख ७० हजार रुपैयाँ खर्च भएको कास्की टेनिस संघका सचिव भीमराज पौडेलले जानकारी दिए । उनले सहयोगी संस्थाहरूलाई धन्यवाद समेत दिए ।

Advertisement

विजेता खेलाडीहरूलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ (राजु), नेपाल टेनिसका सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नवीन चालिसे, द्वितीय उपाध्यक्ष नवीन श्रेष्ठ, कोषाध्यक्ष विष्णुबहादुर थापा, नेपालका नम्बर एक टेनिस खेलाडी प्रदीप खड्का र आईटीएफ रेफ्री प्रवीण कुमार नायकले पदक वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया