सिलिंगे कृषि सहकारीको अध्यक्षमा ठाकुरप्रसाद दोहोरिए

समाधान संवाददाता २०८२ मंसिर २८ गते १२:०१

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाको नेतृत्व पुनः ठाकुरप्रसाद रानाभाटले सम्हाल्ने भएका छन् । संस्थाको १७औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले आगामी कार्यकालका लागि रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

अध्यक्ष पदका लागि संस्थाका तत्कालीन सचिव ईश्वरीप्रसाद अधिकारीले पनि आकांक्षा देखाएका थिए । तर, बैंकिङ क्षेत्रको अनुभव र अघिल्लो कार्यकालमा संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गरेको भन्दै निर्वाचन समितिले रानाभाटलाई नै अध्यक्षमा सर्वसम्मत प्रस्ताव गरेको हो । अन्य पदहरूमा पनि एकभन्दा बढीको दाबी रहे पनि अन्ततः सहमतिमै पदाधिकारी चयन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्षमा चिनिया थापा, सचिवमा मीरा सिग्देल र कोषाध्यक्षमा कृष्णहरि ढुंगाना चयन भएका छन् । यस्तै, सदस्यहरूमा पुरुषोत्तम ढुंगाना, सीता ढुंगाना, गोमा बञ्जरा, कमलबहादुर रानाभाट र विमल अधिकारी छन् । अधिवेशनले सन्दीप ढुंगानाको संयोजकत्वमा सञ्जीव गौतम र महेन्द्र ढुंगाना सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ ।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले सहकारीहरूले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । ‘छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी सदस्यको हितमा लगानी गर्नु सहकारीको मुख्य दायित्व हो,’ थापाले भने, ‘अहिले देखिएका समस्या समाधान गर्दै संस्थालाई पूर्ववत अवस्थामा फर्काउन आवश्यकताको सिद्धान्त अपनाएर उत्पादनमा जोड दिनुपर्छ ।’

सोही अवसरमा संस्थापक अध्यक्ष देवेन्द्र रानाभाटले स्थापनाकालमा गाउँघरमा उत्पादित फलफूल, तरकारी र अदुवाजन्य वस्तुको बजारीकरणका लागि सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । नवनिर्वाचित अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराई, सल्लाहकार चन्द्रगोपाल रानाभाट, मुरारी शर्मा, सेयर सदस्य राजेन्द्र ओझा, शोभा रानाभाट र जलधारे बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा तत्कालीन उपाध्यक्ष यदुनाथ बरालले स्वागत, सचिव ईश्वरीप्रसाद अधिकारीले सञ्चालन, कोषाध्यक्ष सोमनाथ अधिकारीले आर्थिक प्रतिवेदन र लेखा संयोजक सन्दीप ढुंगानाले संस्थाको वास्तविक अवस्थासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया