रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग

पोखरा । रोटरी क्लब अफ लेखनाथले आफ्नो स्थापना दिवसको अवसरमा पोखरा–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयलाई शुद्ध खानेपानीका उपकरण सहयोग गरेको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको उक्त क्लबले विद्यालयलाई १ थान वाटर प्युरिफायर र २ थान तातो–चिसो पानी आउने वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो ।
शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लबका अध्यक्ष माधवप्रसाद बरालले ती सामग्री हस्तान्तरण गरे । अध्यक्ष बरालले सामुदायिक विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले विद्यालयको आग्रह स्वीकार गरी विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिए । उनले क्लब र कार्यक्रम संयोजक एवं विद्यालयका पूर्वविद्यार्थी हरिबहादुर बुढाथोकीको पहलको प्रशंसा गर्दै यसले शैक्षिक वातावरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक किरणबाबु न्यौपानेले मानव जीवनमा स्वच्छ पानीको महत्त्व धेरै रहेको भन्दै बालबालिकाको स्वास्थ्यमा सहयोग पुग्ने बताए ।
सोही अवसरमा छात्रवृत्तिसमेत वितरण गरिएको छ । क्लबका पूर्वअध्यक्ष बद्रीनाथ पौडेलले संस्थापक अध्यक्ष उमेशकुमार आचार्यले हजुरआमा हरिकुमारी आचार्यको स्मृतिमा स्थापना गरेको अक्षयकोषको ब्याजबापतको १३ हजार रुपैयाँ मिलन ओझालाई हस्तान्तरण गरिएको जानकारी दिए । ओझा त्रिवेणी इन्टरनेसनल कलेजमा स्नातक तहमा अध्ययनरत छन् ।
क्लबका पूर्वअध्यक्ष इविन्द्रराज तिवारीले सन् २०१० मा स्थापना भएको क्लबले शैक्षिक, वातावरणीय र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताए । उनले क्लबमार्फत हालसम्म ३० हजार डलरभन्दा बढीका प्रोजेक्ट सम्पन्न भइसकेको जानकारी दिए ।
कार्यक्रम संयोजक हरिबहादुर बुढाथोकीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव महेश बरालले गरेका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मंगलबहादुर नेपाली, निवर्तमान प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी, भूतपूर्व विद्यार्थी मञ्चका संयोजक शुक्र शर्मा, सदस्य सूर्यबहादुर थापा, विव्यस सदस्य मुना लामिछाने, महेश्वर अधिकारी, अभिभावक लक्ष्मी विक, बेलबहादुर सुनारलगायतको उपस्थिति थियो ।








उम्मेदवार सिफारिसमा जिल्ला सभापतिले मनोमानी गरेको आरोप
लेकसिटी कलेजमा कार्निभलको रौनक : चौरदेखि स्टेजसम्म विद्यार्थीको प्रस्तुति
नेका गण्डकी बैठक : जिल्लाबाट आएका नाम सिधैं केन्द्रमा पठाउने निर्णय
जेन्जी आन्दोलनका क्रममा मारिएका प्रहरी अमृतको रुपा घरमा गृहमन्त्री र आइजिपी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया