घुमाउने पुलमा मन्त्री घिसिङको अल्टिमेटम : एक महिनाभित्र काम नथाले ठेक्का तोड्ने चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने अलपत्र ‘घुमाउने पुल’ को निर्माण कार्य एक महिनाभित्र सुरु नभए ठेक्का तोड्ने चेतावनी दिएका छन् । शनिबार पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले लामो समयदेखि काम रोकेर बसेको निर्माण कम्पनीलाई अन्तिम मौकास्वरूप तत्काल काम थाल्न निर्देशन दिएका हुन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणमा भएको ढिलासुस्तीप्रति मन्त्री घिसिङले कडा असन्तुष्टि जनाए । ‘पुलको डिजाइन परिवर्तन भएर सडक विभागमा पुगेको सुनिएको छ, विभागले पनि तत्काल स्वीकृत गरेर काम अघि बढाउनुपर्छ,’ सडक विभागलाई समेत निर्देशन दिँदै उनले भने, ‘अब कुनै पनि बहाना वा ढिलासुस्ती सह्य हुँदैन । ११ वर्षअघि सुरु भएको काम पुरानै डिजाइनमा किन बनेन ?’ उनले विकास निर्माणमा देखिएको लापरबाही स्वीकार्य नहुने स्पष्ट पारे ।
विसं २०७० असारमा हेटौंडाको मृत सञ्जीवनी निर्माण कम्पनीसँग पहिलो सम्झौता भए पनि पुलको कामले गति लिन सकेन । पटक–पटक म्याद थप र डिजाइन फेरबदलपछि विसं २०७५ माघमा पुनः सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय दमौलीका अनुसार विसं २०७८ चैतमा सम्पन्न भइसक्नुपर्ने पुलको काम हालसम्म करिब ५० प्रतिशत मात्र सकिएको छ । ९ करोड ५६ लाख रुपैयाँ लागत सम्झौता भएको १०५ मिटर लामो र ११ मिटर चौडा यो पुलका दुवै किनारमा अहिलेसम्म पिल्लर मात्र ठडिएका छन् ।
यो पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने बुद्धसिंह मार्गको सबैभन्दा छोटो दूरी सुनिश्चित हुनेछ । पोखरा, बागलुङ, पर्वत, स्याङ्जा र दमौलीका बासिन्दाले हालको मुग्लिन–नारायणगढ सडक प्रयोग नगरी २३ किलोमिटर छोटो बाटोबाट यात्रा गर्न पाउनेछन् ।
पुल बन्दा इन्धनको बचत र स्थानीयलाई सास्तीबाट मुक्ति मिल्ने बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए । उनले आइतबार दिउँसो १ बजे मन्त्री घिसिङसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार समितिले तत्काल पुल निर्माण र सडक स्तरोन्नतिको माग राख्दै सडक डिभिजन कार्यालय दमौलीमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया