जेन्जी आन्दोलनका क्रममा मारिएका प्रहरी अमृतको रुपा घरमा गृहमन्त्री र आइजिपी

पोखरा । कर्तव्य पालनाको सिलसिलामा काठमाडौंको कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवलदार अमृत गुरुङको परिवारलाई भेट्न गृहमन्त्री र प्रहरी महानिरीक्षक (आइजिपी) घरमै पुगेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा मारिएका अमृतको परिवारलाई समवेदना दिन आइतबार उच्चस्तरीय सरकारी टोली कास्कीको रुपास्थित अमृतकै घरमा पुगेको हो ।

टोलीमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र मन्त्रालयका सहप्रवक्ता उपसचिव रविन्द्र आचार्यलगायत सहभागी थिए ।

आइतबार अमृतको घरमा पुगेर मन्त्री अर्याल र महानिरीक्षक कार्कीले कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका अमृतको योगदानलाई राज्यले कहिल्यै नबिर्सने बताए । मन्त्री अर्यालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै राज्य सधैं परिवारको साथमा रहेको बताए । मन्त्री अर्यालले राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपयुक्त प्रवन्ध समेत गर्ने बताए । राज्यले अमृतको परिवारलाई सबै तारिकाको परिपूरण गर्ने प्रतिबद्धता उनले जनाए ।

भेटका अवसरमा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले अमृतकी पत्नीको जीविकाका लागि सरकारले स्थायी जागिरको प्रबन्ध गर्नुपर्ने माग राखिन् । अमृतकी पत्नी कान्तिले मेजर अंग्रेजी विषय लिएर स्नातक उत्तीर्ण गरेकी छन् । जवाफमा मन्त्री अर्यालले तत्कालका लागि तीनै तहका सरकार मिलेर परिवारको जीविकाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले शैक्षिक योग्यताका आधारमा रोजगारीको व्यवस्था गर्न पहल गर्ने आश्वासन समेत दिए ।
त्यो कहालीलाग्दो रात
भदौ २४ गते अमृतका लागि अन्तिम ड्युटी बन्यो । शरीर रुघाखोकीले थलिएको थियो, तर उनको आत्मबल डगमगाएको थिएन । राति जम्मा दुई घण्टा सुतेर उनी निरन्तर ड्युटीमै खटिएका थिए । उनी कार्यरत प्रहरी प्रभाग कोटेश्वरमा अचानक परिस्थिति तनावपूर्ण बन्यो । ‘जेनजी’ आन्दोलनकारीको समूह आक्रामक रूपमा अघि बढ्यो र आन्दोलन हिंसात्मक बन्यो ।
प्रहरीमाथि ढुंगामुढा बर्साउँदै अनियन्त्रित भएको भीड प्रहरी विभागभित्रै पस्यो । आन्दोलनकारीले हातहतियार खोसेर उल्टै प्रहरीमाथि प्रहार गर्न थाले । कार्यालयमा आगजनी भयो । केही प्रहरीलाई कुटपिट गर्दै सडकसम्म घिसारियो । धुवाँ, नाराबाजी र हिंसाका बीच अमृतको सम्पर्क टुट्यो । यता घरमा श्रीमती कान्ति गुरुङको मन बेचैन थियो । श्रीमानको फोन आउने आसमा उनले रातभर मोबाइल हेरिरहिन्, तर त्यो प्रतीक्षा कहिल्यै पूरा भएन ।
प्रहरीले पाउने सुविधा के छ ?
नेपाल प्रहरीको नियमावलीअनुसार कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीलाई संगठनले उच्च सम्मानका साथ बिदाई गर्दै परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँछ । अमृतको हकमा पनि उनलाई मरणोपरान्त एक तह बढुवा दिइएको छ । नेपाल प्रहरीले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा पनि गरिसकेको छ ।
यस्तै, प्रहरी कल्याण कोष र बिमाबापतको रकम (करिब २५ देखि ३० लाख रुपैयाँ) परिवारलाई तत्काल उपलब्ध गराइन्छ । यसका साथै, मृतक प्रहरीका सन्ततिलाई कक्षा १२ सम्म अध्ययनका लागि छात्रवृत्ति र श्रीमतीलाई आजीवन निवृत्तिभरण (पेन्सन) को सुविधा नेपाल सरकारले उपलब्ध गराउँछ ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया