लेकसिटी कलेजमा कार्निभलको रौनक : चौरदेखि स्टेजसम्म विद्यार्थीको प्रस्तुति

पोखरा । पोखरास्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले चौथो संस्करणको ‘लेकसिटी कार्निभल’ भव्यताका साथ सम्पन्न गरेको छ । पोखरा–४ गैह्रापाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजित कार्निभलमा सांगीतिक माहोल, खानाका परिकार र सांस्कृतिक विविधताको बेजोड प्रस्तुतिले रौनक थपेको थियो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले बेलुन उडाएर कार्निभलको औपचारिक उद्घाटन गरेका हुन् । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्निभललाई निरन्तरता दिँदै थप व्यवस्थित बनाइएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले बताए । उनका अनुसार कलेजको खेलमैदानमा मुख्य स्टेजसहित स्थानीय उत्पादनका स्टलहरू राखिएको थियो । जसमा मह, अचार, सातु, हस्तकला, सजावटका सामग्री र कपडाका झोलाहरूको प्रदर्शनी एवं बिक्री कक्ष राखिएको थियो ।
कार्निभलमा कलेजका विद्यार्थी र पूर्वविद्यार्थीको सक्रियता लोभलाग्दो थियो । विद्यार्थीहरूले सेलरोटी, मःम, चाउमिन, चटपटे, पानीपुरी, अचार जस्ता लोकप्रिय परिकारका स्टलहरू राखेर स्वयंसेवकका रूपमा सेवा प्रदान गरेका थिए ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरूले लाखेनाच, सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरे । कलेजका अतिरिक्त क्रियाकलाप संयोजक अमोद कोइरालाले विद्यार्थीको कला, सिर्जनशीलता र सहभागिता बढाउन कार्निभल कोसेढुंगा सावित भएको बताए । ‘यो केवल रमाइलो मात्र होइन, विद्यार्थीमा उद्यमशीलता र व्यवस्थापन कला सिकाउने माध्यम पनि हो,’ कोइरालाले भने ।
कार्निभलमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयबासीको बाक्लो उपस्थिति थियो । साँझपख भएको ‘लाइभ कन्सर्ट’ मा स्थानीय ब्यान्डहरूको प्रस्तुतिले माहोल तताएको थियो । कार्यक्रमलाई विभिन्न संस्था तथा व्यक्तिहरूले प्रायोजन गरेका थिए ।
सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार कलेजले शैक्षिक भ्रमण, खेलकुद, रक्तदान, वृक्षारोपण र सामाजिक कार्यलाई नियमित प्राथमिकतामा राखेको छ । सामाजिक विज्ञान केन्द्रद्वारा सञ्चालित मासिक ‘कचहरी’ कार्यक्रम कलेजको मौलिक पहिचान बनेको उनले बताए ।
विसं २०६४ मा स्थापना भएको लेकसिटी कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त संस्था हो । यहाँ हाल बिबिएस, बिएएसडब्लु (समाजसेवा) र बिए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) संकायको पठनपाठन हुँदै आएको छ । कलेजमा हाल ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।








प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पोखरामा सम्मान
हाइकिङको ६५ औं संस्करण म्याग्देको हर्षपुरमा
पश्चिमाञ्चल माविमा रक्तदान तथा विज्ञान प्रदर्शनी
प्रगति माविको खेल उत्सव सकियो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया