एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी : भूगोल र क्षेत्रमा युवा अनिवार्य, वरिष्ठ उपाध्यक्ष हट्यो

समाधान संवाददाता २०८२ मंसिर २९ गते ६:००

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनले केन्द्रीय कमिटीको आकार र संरचना टुंगो लगाएको छ । हिजो सुरु भएको बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रस्ताव पारित गरेको हो । नयाँ संरचनाअनुसार अब हरेक भूगोल र क्षेत्रमा ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य हुनेछ । केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिमको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यस्तै श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट पनि समावेशी सहभागिता हुनेछ ।

एमालेको केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन् । यसअघि रहँदै आएको वरिष्ठ उपाध्यक्षको व्यवस्था भने अब हटाइएको छ । नयाँ विधानअनुसार १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव रहने व्यवस्था गरिएको छ । प्रदेशगत प्रतिनिधित्वका लागि उपत्यकासहित ८ वटा भूगोल मानिएको छ । यी क्षेत्रबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । हरेक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ । त्यसमा ५ जना खुला, ३ जना महिला र १ जना युवा हुनुपर्नेछ । यो जानकारी एमाले महाधिवेशन प्रचार कमिटीकी संयोजक पदमा अर्यालले दिइन् ।

Advertisement

खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । यसभित्र पनि समावेशिता मिलाइएको छ । खुला कोटामा ७१ जना खुला, ५२ जना महिला र २ जना युवा रहनेछन् । समावेशी संरचनाअनुसार आदिवासी जनजातिबाट २५ जना चयन हुनेछन् । यसमा १५ खुला, ८ महिला र २ युवा रहनेछन् । मधेसी समुदायबाट १९ जनाको प्रतिनिधित्व हुनेछ । जसमा ११ खुला, ६ महिला र २ युवा रहनेछन् । दलित समुदायबाट १२ जना केन्द्रीय सदस्य बन्नेछन् । यसमा ७ खुला, ४ महिला र १ युवा सहभागी हुनेछन् ।

थारु समुदायबाट ८ जनाको सिट सुरक्षित गरिएको छ । जसमा ५ खुला र ३ महिला रहनेछन् । मुस्लिम समुदायबाट ५ जना आउनेछन् । यसमा ४ खुला र १ महिला हुनेछन् । प्रवास क्षेत्रबाट २ जना केन्द्रीय सदस्य बन्नेछन् । यसमा भारतबाट १ र अन्य देशबाट १ जना हुनेछन् । श्रमिक क्षेत्रबाट ३ जनाको प्रतिनिधित्व हुनेछ । जसमा २ खुला र १ महिला रहनेछन् । पिछडिएको क्षेत्रबाट १ खुला र १ महिला गरी २ जना आउनेछन् । सम्पर्क समन्वय कमिटीबाट पनि १ खुला र १ महिला गरी २ जना नै रहनेछन् । अपाङ्गता भएका व्यक्तिको तर्फबाट १ जनाको प्रतिनिधित्व हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया