एमालेको महाधिवेशन : पुस १ गते मात्रै मतदान

समाधान संवाददाता २०८२ मंसिर २९ गते १०:४७

काठमाडौं ।
नेकपा एमालेको एघारौं महाधिवेशन निर्धारित समयभन्दा लम्बिने भएको छ । काठमाडौंमा जारी महाधिवेशन २९ गतेसम्मका लागि तय गरिएको थियो । तर निर्वाचन प्रक्रियाका कारण महाधिवेशनको अवधि लम्बिने निश्चित भएको हो । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अब पुस १ गते दिउँसो ११ बजेदेखि मात्र मतदान हुनेछ । मतदानको मिति पछि सरेसँगै महाधिवेशन लम्बिने अवस्था आएको हो ।


निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले महाधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । सार्वजनिक तालिकाअनुसार सोमबार बिहान ७ बजेदेखि निर्वाचनका कार्यक्रम सुरु हुनेछन् । सोमबार बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन र दाबी विरोधको समय तोकिएको छ । त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुनेछ ।

मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न पाइनेछ । साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन हुनेछ । १० बजे दाबी विरोध उपर छानबिन गरिनेछ । आयोगले मंगलबार बिहान सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

Advertisement


मंगलबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पुरानो विधान ब्युँताउने निर्णय गरेको छ । एमाले नेताहरुका अनुसार अब पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । पदाधिकारीसहित सबै पदमा खुला प्रतिस्पर्धा हुनेछ ।


महाधिवेशनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव चयन हुनेछन् । उपत्यकासहित ८ वटै प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसमा हरेक प्रदेशबाट ५ खुला, ३ महिला र १ युवाको प्रतिनिधित्व हुनेछ । खुला कोटाबाट १२५ जना निर्वाचित हुनेछन् । जसमा ७१ खुला, ५२ महिला र २ युवा रहनेछन् । आदिवासी जनजाति कोटामा २५ जना निर्वाचित हुनेछन् । यसभित्र १५ खुला, ८ महिला र २ युवाको व्यवस्था गरिएको छ ।

Advertisement


मधेसी कोटातर्फ २० जना निर्वाचित हुनेछन् । जसमा ११ खुला, ६ महिला र २ युवा रहनेछन् । दलित समुदायबाट ७ खुला, ४ महिला र १ युवा गरी १२ जनाको प्रतिनिधित्व हुनेछ । थारु समुदायबाट ५ खुला र ३ महिला गरी ८ जना निर्वाचित हुनेछन् । मुस्लिम समुदायबाट ४ खुला र १ महिला गरी ५ जना केन्द्रीय सदस्य बन्नेछन् ।

श्रमिक कोटामा २ खुला र १ महिला गरी ३ जना निर्वाचित हुनेछन् । अपांगता भएका व्यक्तिबाट १ जना खुला सदस्य रहनेछन् । पिछडिएको क्षेत्रबाट १ खुला र १ महिला गरी २ जना आउनेछन् । प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जनाको प्रतिनिधित्व हुनेछ ।


एमालेले सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाको कोटा राख्ने भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले यस्तो प्रस्ताव पेश गरेका हुन् । भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनीको एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया