पूर्वेलीलाई पोखरेलीको निम्तो : घुम्न आउनुस्, स्वागत गर्न तत्पर छौं

विराटनगर ।
पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पूर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवसायीको टोलीले नेपालको पूर्वी सहर विराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रूपमा यी सहरहरूमा पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्न यतिबेला उपयुक्त मौसम भएको बताउँदै सम्पूर्ण पूर्वेलीलाई पोखरा आउन आग्रह गरे ।
उनले यतिबेला पूर्वी नेपाल र पोखरासँगको सडक सञ्जाल पनि उत्कृष्ट रहेको बताउँदै विगतमा बाटोमा हुने विभिन्न झन्झटहरू टरेको उल्लेख गरे । पोखरालाई पर्यटकीय राजधानी सहर घोषणा गरिसकेपछि समितिले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले औंल्याए । मौसमलगायत सबै दृष्टिकोणबाट पोखरा घुम्न यतिबेला अनुकूल भएको जनाउँदै उनले पोखरा घुम्न आह्वान गरे ।
पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले पुस १३ देखि १७ गतेसम्म हुन लागेको पोखरा सडक महोत्सवका आकर्षणबारे जानकारी गराए । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा विकास गरेको उनले जनाए ।
गौतमका अनुसार महोत्सवमा मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरू समावेश गरिनेछ । चेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् ।
सो अवसरमा पोखरा र पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसअघि नेपाल पत्रकार महासंघ इटहरीले भ्रमणकारी पोखरेली पर्यटन व्यवसायीको टोलीलाई रुद्राक्षको माला अर्पण गर्दै स्वागत गरेको थियो । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि र सहप्रायोजकमा यति डिस्टिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिस्टिलरी प्रालि रहेका छन् ।
प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्यास, अन्नपूर्ण केबलकार, रेड बुल सहयोगी संस्थामा रहेको उनले जानकारी दिए ।
महोत्सवमा पोखरा सेरोफेरोका स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतिलगायत कृषि उपजहरूलाई प्राथमिकताका साथ प्रदर्शनी गरिनेछ । पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिनेछ । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।
समारोहमा बोल्दै होटल संघ चितवनका अध्यक्ष ओम पाण्डेले पुस ११ देखि १३ गतेसम्म हुन लागेको हात्ती महोत्सवका बारेमा जानकारी दिँदै अवलोकनका लागि आह्वान गरे । २० सदस्यीय उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव वीरेन्द्र शेरचन, पूर्वअध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल छन् ।
त्यसैगरी टोलीमा पत्रकार विनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा महानगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, होटल चितवन होटल संघका ओम पाण्डे, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बास्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी छन् ।








पूर्वेलीलाई पोखरेलीको निम्तो : घुम्न आउनुस्, स्वागत गर्न तत्पर छौं
एमालेको महाधिवेशन : पुस १ गते मात्रै मतदान
सम्पादकीय—एमाले महाधिवेन र निर्वाचन
‘मुर्बै लयँ सारा’ बोलको गीत सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया