फागुन २१ को चुनाव रोकिँदैन, ७० प्रतिशत कैदीबन्दी फिर्ता आए : गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।
पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचन गराउन सरकार दृढ रहेको स्पष्ट पारे । निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ स्वीकृत भई कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा फरार भएकामध्ये करिब ७० प्रतिशत कैदीबन्दी फिर्ता भइसकेको बताए । बाँकीलाई फिर्ता ल्याउने काम गृह प्रशासनले गरिरहेको उनको भनाइ छ । राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याएको विषयमा सरकार गम्भीर रहेको उनले बताए ।
अर्यालले दलहरूसँगको वार्ता, संवाद र छलफलका लागि सरकार खुला रहेको स्पष्ट पारे । उनले भने, ‘लुटिएका हतियार र सुरक्षा चुनौतीबारे सरकार संवेदनशील र जिम्मेवार छ ।’
‘जेन–जी’ युवाहरूको जनआन्दोलनको जगमा वर्तमान सरकार बनेको स्मरण गर्दै उनले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने ४२ जना ‘जेन–जी’ सुशासन योद्धा र ३ जना प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले प्रधानमन्त्री र ‘जेन–जी’ प्रतिनिधिबीच भएको सम्झौता राजपत्रमा प्रकाशित भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।
आन्दोलनका क्रममा ध्वस्त भएका संरचना र प्रहरी बिटहरूको पुनर्स्थापना गरी सेवा सुचारु गरिएको अर्यालले बताए । उनले सुरक्षा अधिकारीहरूलाई व्यावसायिक र निष्पक्ष भएर काम गर्न निर्देशन दिए । कार्यसम्पादनको मूल्यांकनका लागि निगरानी बढाइने र गल्ती गर्नेलाई नछोडिने उनको चेतावनी छ ।
गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल भएको थियो । प्रदेश सरकारले पनि केन्द्रीय योजनाअनुसार आफ्नो सुरक्षा रणनीति बनाएर लागू गर्ने विश्वास अर्यालले व्यक्त गरे ।








ओली प्यानलबाट उपाध्यक्षमा गुरुङ र सचिवमा अधिकारीसहित गण्डकीका ४१ जना उम्मेदवार
घोषणा गरिएको मितिमै निर्वाचन हुनुपर्छः मुख्यमन्त्री पाण्डे
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया