सरकार र दलबीच विश्वासको वातावरण बनेन : मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८२ मंसिर २९ गते १२:२१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनै तहका सरकारबीच समन्वय भए मात्र निर्वाचनको वातावरण बन्ने बताएका छन् । सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले सरकार र राजनीतिक दलबीच विश्वासको वातावरण बन्न नसकेको गुनासो गरे ।

मुख्यमन्त्री पाण्डेले अहिलेको संघीय सरकार निर्वाचित नभई निर्वाचन गराउन बनेको तर प्रदेश र स्थानीय गरी ७६० सरकारको नेतृत्व राजनीतिक दलले गरिरहेको स्मरण गराए । उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गर्दै भने, ‘यस्तो अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध कसरी अगाडि बढ्छ ? समन्वय कसरी हुन्छ ?’

गृह मन्त्रालयले राजनीतिक दल र सरकारबीच विश्वासको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘राजनीतिक दलहरूप्रति सरकार विश्वस्त हुन सकेको छैन । दलहरूले पनि सरकारले आफूलाई बाइपास गरेर अगाडि बढ्न खोजेको ठानेका छन्,’ उनले भने, ‘यो बीचमा विश्वासको वातावरण जगाउन सकिएको छैन ।’

Advertisement

पाण्डेले जनस्तरमा मनोबल गिरेकाले निर्वाचनमा थप सुरक्षा चुनौती हुन सक्ने औंल्याए । जनताले सुरक्षा निकायप्रति पूर्ण विश्वास गर्न नसकेको अवस्था रहेको उनको भनाइ छ ।

‘केही हतियार र अपराधी जेलबाट छुटेर बाहिर हिँडिरहेकाले सुरक्षा चुनौती छ,’ उनले भने, ‘यसले गर्दा विगतमा जस्तो निर्वाचन सम्पन्न गर्न अझ ठूलो चुनौती थपिन सक्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया