मदरल्यान्ड लिटरेचर फेस्टिभल
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा

पोखरा ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ ले जताततै सन्नाटा छाएको थियो । मानिसहरू घरभित्रै थुनिएका थिए भने धेरैको रोजगारी गुमेको थियो । आर्थिक स्रोत सुक्दै गएपछि धेरैमा निराशाको बादल मडारिइरहेको थियो । पोखराकी बिञ्जुल श्रेष्ठको मनमा पनि उस्तै छटपटी थियो । नर्सिङ पेसाको जागिरताका जोगाएको केही रकम सकिएपछि उनको आर्थिक अवस्था शून्यमा झरिसकेको थियो । तर, त्यही शून्यता र भान्साको एउटा सामान्य मिक्सरले उनको जीवनमा व्यावसायिक सफलताको नयाँ ढोका खोलिदियो ।
पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा आयोजित साहित्य मेलामा सोमबार विद्यार्थीहरू माझ उभिएर बिञ्जुलले आफ्नो यही संघर्ष र सफलताको कथा सुनाउँदा माहोल स्तब्ध र प्रेरित बन्यो । ‘के गर्ने र कसो गर्ने’ भन्ने अन्योलबीच उनले एकदिन आफ्नै छोरीका लागि घरमा लिटो तयार पारिन् । छोरीले लिटो खाएको भिडियो उनले सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरिन् । उनको व्यावसायिक यात्राको प्रस्थानविन्दु त्यही टिकटक भिडियो बन्न पुग्यो ।
चिनजानका दिदीबहिनीले टिकटक हेरेपछि बिञ्जुललाई आग्रह गरे, ‘हाम्रो बच्चाका लागि पनि यस्तै लिटो बनाइदेऊ न ।’ सुरुमा त उनले घरकै भान्सामा रहेको मिक्सरमा अन्न पिनेर लिटो तयार पारिन् । उनले बनाएको लिटो बालबालिकाले निकै रुचाए । आमाहरूले पनि मन पराएर सामाजिक सञ्जालमा चर्चा गरिदिए । बिञ्जुलले पनि लिटो बनाउँदै पोस्ट गर्न थालिन् । हेर्दाहेर्दै दिनदिनै नयाँनयाँ ठाउँबाट अर्डरको ओइरो लाग्न थाल्यो ।
लकडाउनको फुर्सदिलो समयमा सुरु भएको उनको व्यापारले यसरी गति लियो कि श्रीमान्–श्रीमतीले मात्र काम गरेर भ्याइनभ्याइ भयो । माग धान्न नसकेपछि उनले सहयोगी कर्मचारी राख्न थालिन् । कुनै बेला विदेश जाने सपना बुनेर असफल भएकी नर्स बिञ्जुल अहिले १९ जनालाई रोजगारी दिन सक्ने सफल उद्यमी बनेकी छिन् । उनको ‘मामु–छोरी’ ब्राण्डको लिटो अहिले देशभरका ५ हजारभन्दा बढी सन्तुष्ट ग्राहकको भान्सामा पुग्छ । पाँच वर्षको अवधिमा पोखराबाट सुरु भएको यो व्यवसायले देशव्यापी आकार लिइसकेको छ भने उनले उद्योग नै सञ्चालनमा ल्याएकी छिन् ।
साहित्य मेलामा विद्यार्थी अपिल बरालसँगको संवादमा बिञ्जुलले भनिन्, ‘व्यवसाय गर्न धेरै रकम नचाहिने रहेछ । मेहनत भने गर्नुपर्ने रहेछ । हुन त उद्यमशील बन्न सहज छैन । तर, उद्यमशील बन्ने रहर जाग्दा थाक्नु भने हुँदैन ।’ उनले लगानीका लागि ठूलो रकम कुरेर बसेको भए आज यो अवस्थामा नआइपुग्ने अनुभव सुनाइन् । सानो आँट र निरन्तरको लगावले नै उनलाई सफलताको शिखरमा पुर्याएको हो ।
नर्सिङ पढेकी बिञ्जुलले लिटो व्यवसाय थाल्नुअघि विदेश जाने प्रयास पनि गरेकी थिइन् । ‘त्यसमा असफल भएँ । सायद यही सफलता हात पार्नका लागि त्यो असफलता पाएकी रहेछु,’ उनले विगत सम्झिँदै भनिन् । व्यवसाय विस्तारका क्रममा खुट्टा तान्नेहरू र अनेक चुनौती नआएका होइनन् । तर, उनले हरेक बाधालाई अवसरका रूपमा लिइन् र कहिल्यै हार मानिनन् ।
बिञ्जुलको यो प्रेरणदायी कथा मदरल्याण्ड माविले आयोजना गरेको साहित्य मेलाको दोस्रो संस्करणको मुख्य आकर्षण बन्यो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार कक्षा १२ को पढाइ सक्नासाथ विदेश जान हतारिने विद्यार्थीलाई उद्यमशीलताको सम्भावना देखाउन बिञ्जुललाई आमन्त्रण गरिएको थियो । ‘व्यवसाय भन्नेबित्तिकै सफल नहुन पनि सकिन्छ । तर, हार मान्नु हुँदैन,’ डा. बरालले भने ।
मेलामा व्यावसायिक कथा मात्र होइन, पठन संस्कृतिको बहस पनि चल्यो । पोखराका अगुवा साहित्यकारद्वय तीर्थ श्रेष्ठ र सरुभक्तले विद्यार्थीसँग पठनशैली र लेखनबारे अन्तरक्रिया गरे । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले यस्ता मेलाले पाठ्यक्रमभन्दा बाहिरको संसार बुझ्न र विद्यार्थीमा पठन तथा लेखनको भोक जगाउन मद्दत पुगेको बताए । सोमबारको त्यो दिन विद्यार्थीले केवल साहित्य मात्र पढेनन्, जीवन र जगत बुझाउने एउटा जिउँदो जाग्दो ‘मामुछोरी’ को कथा पनि पढे ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया