मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी

समाधान संवाददाता २०८२ मंसिर २९ गते १९:३२


पोखरा ।
मिस तामाङ पोखरा–२०२६ सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा सोनाम ल्होसारको अवसरमा हरेक वर्ष मिस तामाङ पोखरा सञ्चालन हुँदै आएको छ । तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृति सिकाउँदै उनीहरूको व्यक्तित्व, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।


मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सञ्चालन गरिएको तालिम तथा ओरिएन्टेसन कार्यक्रमको उद्घाटन तामाङ भाषाविद् अजितमान तामाङले गरेका थिए । उद्घाटन समारोहमा उनले तामाङ भाषा, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको बताए ।


कार्यक्रमका अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारी विकास गर्ने अभियान भएको उल्लेख गरे । उनले भने, ‘तामाङ समुदायका छोरी–चेलीले आफ्नो भाषा, पहिचान र संस्कार बुझेर अघि बढून् भन्ने हाम्रो उद्देश्य हो । मिस तामाङ पोखरा समुदायको गौरव र भविष्य निर्माण गर्ने मञ्च हो ।’

Advertisement


कार्यक्रम संयोजक रोजिना ब्लोन तामाङले प्रतियोगितामार्फत युवतीहरूमा आत्मविश्वास, नेतृत्व र सामाजिक चेतना विकास गराउने लक्ष्य रहेको बताइन् । उनका अनुसार मिस तामाङ पोखराले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो मौलिकता चिन्न र समाजमा सक्षम रूपमा प्रस्तुत हुने अवसर प्रदान गर्दै आएको छ ।


तालिम संयोजक तथा रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्लले तालिमलाई केवल प्रतियोगिताको तयारीमा सीमित नराखी जीवन उपयोगी सीप, बोल्ने कला र सांस्कृतिक ज्ञानमा केन्द्रित गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल जेसिजका पूर्व अध्यक्ष राजु केसी, नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय उपाध्यक्ष, नेपाल तामाङ घेदुङका गण्डकी उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, डान्स कोरियोग्राफर राम लामा, कोरियोग्राफर जिता लामा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुनिता लामाले गरेकी थिइन् ।

Advertisement


मिस तामाङ पोखरामा १२ जना तामाङ समुदायका युवतीहरू सहभागी छन् । जसमा रोज स्याङदेन लामा, कबिना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ, माया दुम्जन तामाङ, खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ, सोममाया मोक्तान तामाङ, एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा र प्रभा तामाङ छन् ।


प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । त्यस्तै सेकेन्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछिन् । भ्युवर्स च्वाइसका रूपमा एकजनाले नगद २० हजार पुरस्कारसमेत प्राप्त गर्नेछिन् ।


आयोजकका अनुसार मिस तामाङ पोखरा–२०२६ अन्तर्गत विभिन्न चरणमा भाषा, संस्कृति, व्यक्तित्व विकास र नेतृत्वसम्बन्धी तालिम सञ्चालन गरिनेछ भने ग्रान्ड फिनाले सोनाम ल्होसारको अवसरमा यही माघ ३ गते शनिबार हुनेछ ।

तपाईको प्रतिक्रिया