पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो

समाधान संवाददाता २०८२ पुष १ गते ५:४१

पोखरा । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित वडास्तरीय कृषि हाजिरजवाफ प्रतियोगितामा वडा नम्बर २८ को टिम प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर ३३ द्वितीय र वडा नम्बर ७ तृतीय भए ।

पोखरा महानगरपालिकाका ३१ वटा वडाका कृषि सञ्जालबीच भएको प्रतिस्पर्धामा राधाकृष्ण तिवारी, इमनाथ भुर्तेल र शारदा भण्डारी सम्मिलित वडा नम्बर २८ को टिम पहिलो भएको हो । उनीहरूले २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै, पदम लामिछाने, अन्जु भण्डारी र सुदनराज अधिकारी सम्मिलित वडा नम्बर ३३ को टिम दोस्रो भयो । उनीहरूले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । च्युरा भण्डारी, बिना गिरी र कमला बराल सम्मिलित वडा नम्बर ७ को टिम तेस्रो भयो । उनीहरूलाई १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

Advertisement

प्रतियोगितामा सहभागी ३१ टिमलाई सुरुमा ५ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा ६/६ टिमबीच प्रतिस्पर्धा गराइएको थियो । प्रारम्भिक चरणबाट छानिएका उत्कृष्ट टिमबीच फाइनल प्रतिस्पर्धा भएको हो । सहभागीलाई बहु–उत्तर, तस्बिर हेरेर उत्तर दिने, छिटो उत्तर दिने (र्‍यापिड फायर) र ठिक/बेठिक छुट्याउने प्रश्न सोधिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता कार्यक्रमले कृषकमा ज्ञान र उत्साह थपेको बताए । उनले पोखरामा कृषिका विभिन्न पकेट क्षेत्र रहेको भन्दै व्यावहारिक ज्ञान आदानप्रदानमा क्विज फलदायी भएको उल्लेख गरे । ‘आगामी दिनमा पनि किसान लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ,’ उनले भने ।

Advertisement

गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासे रेग्मीले पोखरा महानगर कृषि क्षेत्रमा रोल मोडेल बनेको बताए । उनले कृषिलाई उद्योगका रूपमा विकास गर्न र कृषकलाई उद्यमी बनाउन सहकार्य भइरहेको जानकारी दिए ।

कार्यक्रमका सभापति एवं आर्थिक विकास समितिका संयोजक वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्कीले सहभागी सबै कृषि सञ्जाललाई धन्यवाद दिए । उनले क्विजलाई प्रविधि सिक्ने अवसरका रूपमा लिन आग्रह गरे । कृषकको मागअनुसार नै गत वर्षदेखि सुरु भएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको आर्थिक विकास महाशाखा प्रमुखले जानकारी दिए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३३, २३, १३ र १५ का वडाध्यक्ष, वडा नम्बर ९, २५ र १३ का वडा सदस्य, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि, विभिन्न कृषि सञ्जाल, कृषक समूह र सहकारीका प्रतिनिधिको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया