इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति

पोखरा । बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फर्मेटिक्स कलेज पोखराको ‘दीक्षान्त समारोह–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ । शुक्रबार पोखरास्थित होटल पोखरा ग्रान्डमा आयोजित एक विशेष समारोहका बीच कलेजका १८३ जना विद्यार्थी दीक्षित भएका हुन् ।
समारोहमा स्नातक तहअन्तर्गत बिजनेस एडमिनिस्ट्रेशन (बिबिए) र इन्फरमेसन टेक्नोलोजी (बिआइटी) विषयको अध्ययन सफलतापूर्वक पूरा गर्ने विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । लामो समयको शैक्षिक लगाबपछि गाउन र टोपीमा सजिएर दीक्षित हुन पाउँदा विद्यार्थीहरूको मुहारमा खुसी छाएको थियो । कार्यक्रममा अभिभावक, कलेजका प्राध्यापक, कर्मचारी तथा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो र उत्साहजनक उपस्थिति थियो ।
कलेज सञ्चालक संस्था ‘इनोभेट नेपाल ग्रुप’ले आफ्नो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सर्वोत्कृष्ट नतिजा ल्याउने एक विद्यार्थीलाई विशेष सम्मानसहित छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई दिइने ‘इनोभेट नेपाल ग्रुप स्नातकोत्तर छात्रवृत्ति’ यस वर्ष मनिष धमलाले प्राप्त गरेका छन् ।
यो छात्रवृत्तिसँगै धमलाले अब ‘इनोभेट नेपाल ग्रुप’द्वारा सञ्चालित काठमाडौंस्थित इस्लिङ्टन कलेजमा एमएस्सी आइटीको अध्ययन गर्न पाउनेछन् । कलेजका अनुसार छात्रवृत्ति मात्र होइन, उनलाई इनोभेट नेपाल ग्रुपअन्तर्गतका विभिन्न संस्थामध्ये कुनै एकमा कार्यअनुभव (रोजगारी) प्राप्त गर्ने अवसरसमेत सुनिश्चित गरिएको छ ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै इन्फर्मेटिक्स कलेज पोखराका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अभिनव दाहालले दीक्षित विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । उनले दीक्षान्त समारोह शैक्षिक यात्राको समापन मात्र नभएर विद्यार्थीहरूको व्यावसायिक र विश्वव्यापी करिअरको प्रस्थानबिन्दु भएको बताए ।
सिइओ दाहालले भने, ‘‘इन्फर्मेटिक्स कलेज पोखरामा हामी विद्यार्थीलाई केवल कोरा किताबको ज्ञान मात्र दिँदैनौँ । हामी व्यावहारिक, सीपमूलक र विश्वव्यापी उद्योगको मागसँग मेल खाने अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा प्रदान गर्न प्रतिबद्ध छौँ । आज दीक्षित हुनुभएका विद्यार्थीहरू भोलिको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’’
समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीको पनि विशेष उपस्थिति थियो । उनले पोखरामै बसेर बेलायती डिग्री हासिल गरेका विद्यार्थीहरूले सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
इन्फर्मेटिक्स कलेजले लामो समयदेखि पोखरामा सूचना प्रविधि तथा व्यावसायिक प्रशासन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय साझेदारी तथा विश्वव्यापी प्रतिस्पर्धामा विद्यार्थीलाई सक्षम बनाउने ज्ञान र सीप प्रदान गर्नु नै कलेजको प्रमुख लक्ष्य रहेको कलेज प्रशासनले जनाएको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया