भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए

समाधान संवाददाता २०८२ पुष १ गते ११:२२

काठमाडौं । गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीप्रसाद तिवारीको सरुवा गरेको छ । भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि उनलाई मन्त्रालयमा तानिएको हो ।

मन्त्रालयले तिवारीको ठाउँमा रवीन्द्र आचार्यलाई नयाँ सिडिओका रूपमा पठाएको छ । आचार्य यसअघि गृह मन्त्रालयको सूचना अधिकारीका रूपमा कार्यरत थिए । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्दप्रसाद काफ्लेले सरुवाको पुष्टि गरे । तिवारीलाई हाल मन्त्रालयमै जगेडामा राखिएको छ ।

भिजिट भिसामा विदेश जाने र त्यहाँ पुगेर अवैध रूपमा काम गर्ने गिरोहसँग सरकारी अधिकारीको मिलेमतो भएको विषय नै ‘भिजिट भिसा प्रकरण’ हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा हजारौँ युवालाई नक्कली कागजात बनाएर विदेश पठाइएको खुलेको थियो ।

Advertisement

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानबिन गरिरहेको छ । अख्तियारले केही समयअघि मात्रै अध्यागमनका तत्कालीन प्रमुख, अध्यागमन अधिकृतहरू र ट्राभल एजेन्सी सञ्चालक (बिचौलिया) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले दायर गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री रमेश लेखक र उनको सचिवालयमा रहेका व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको उल्लेख छ । तिवारी तिनै तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव थिए । मन्त्रीको सचिवालयमा रहँदा सेटिङमा भूमिका खेलेको आशंकामा तिवारीमाथि अख्तियारले छानबिन अगाडि बढाएको हो ।

Advertisement

श्रम स्वीकृति नलिई भिजिट भिसामा खाडी मुलुक तथा युरोप पठाउँदा प्रतिव्यक्ति लाखौँ रुपैयाँ असुली हुने गरेको र त्यसको हिस्सा माथिल्लो तहसम्म पुग्ने गरेको अनुसन्धानबाट खुलेको छ । तिवारीमाथि अनुसन्धान जारी रहेकै बेला उनलाई जिल्लाको जिम्मेवारीबाट हटाइएको हो ।

तपाईको प्रतिक्रिया