पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने

समाधान संवाददाता २०८२ पुष १ गते १२:२२

जनकपुर ।
पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७औं पोखरा सडक महोत्सवको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पूर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवसायीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ ।


पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति र रेवान पोखराले संयुक्त रूपमा नेपालका पूर्वी सहरहरूमा पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवद्र्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउने र प्रत्यक्ष भेटघाटमार्फत गरिने निमन्त्रणाले पर्यटकको विश्वास बढाउने बताए ।

यस्ता खाले निमन्त्रणात्मक कार्यक्रमले छुट्टाछुट्टै सहरबीच आपसी सद्भाव कायम गर्दै पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने संयोजक भट्टराईले बताए ।

Advertisement


पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक वसन्त गौतमले पुस १३ देखि १७ गतेसम्म हुने पोखरा सडक महोत्सवको आकर्षणबारे जानकारी गराए । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा विकास गरेको उनले जनाए ।


गौतमका अनुसार महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, भेट्रान रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेश गरिने छ । चेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ लगायत रहनेछन् । पत्रकार सम्मेलनमै पोखरा र पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

Advertisement


पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले अंग्रेजी नयाँ वर्षमा हुने पोखरा सडक महोत्सव अन्तर्राष्ट्रिय स्तरमै एउटा ब्रान्ड बनिसकेको बताउँदै भ्रमणका लागि निमन्त्रणा दिए । रेवानका पूर्वअध्यक्ष सूर्य भुजेलले पोखरा जस्तै जनकपुर पनि पर्यटनको निकै सम्भावनायुक्त ठाउँ रहेको हुँदा जनकपुरका सबै क्षेत्र मिलेर अगाडि बढ्न सुझाव दिए । यस पटकको महोत्सवमा मिथिला संस्कृति समेत समेटिएको बताउँदै महोत्सव अवलोकनका लागि पोखरा आउन अनुरोध गरे ।

विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, लगायत प्रस्तुति हुने


त्यसैगरी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन शाहले जनकपुरका पर्यटक पोखरा पठाउने र पोखराका पर्यटकलाई जनकपुरमा ल्याउनका लागि समन्वय गरी अगाडि बढ्नुपर्ने बताए । समग्र पर्यटन विकासका लागि सबै क्षेत्रले साथ र सहयोग गर्नुपर्ने उनले जोड दिए ।

मधेस प्रदेश नाट्टाका महासचिव सुदर्शन काफ्लेले पर्यटन विकासका लागि गण्डकी प्रदेश सरह मधेस प्रदेश पनि एक ढिक्का हुनु आवश्यक रहेको बताए । पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले धार्मिक पर्यटनमार्फत पोखरा र जनकपुरलाई जोड्नुपर्ने बताए ।


महोत्सवमा पोखरा सेरोफेरोका स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई प्राथमिकतासाथ प्रदर्शनी गरिने छ । पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने छ । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।


२० सदस्यीय उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७औं पोखरा सडक महोत्सवका संयोजक वसन्त गौतम, महासचिव वीरेन्द्र शेरचन, पूर्वअध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल छन् ।


त्यसैगरी टोलीमा पत्रकार विनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदरभक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा महानगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी छन् ।

तपाईको प्रतिक्रिया