पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले पुस ३ गतेदेखि ७ गतेसम्म १८ औं संस्करणको स्पोर्ट्स मिट आयोजना गर्ने भएको छ । पोखरा रंगशाला र पुन समाजमा सञ्चालन हुने यस खेलकुद प्रतियोगितामा करिब पाँच हजार विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले प्रतियोगिताले खेलकुदको प्रवद्र्धन गर्ने तथा प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने बताए । प्रतियोगिताले खेलकुदको संरक्षण तथा खेल शिक्षक पनि उत्पादन भइरहेको उनको भनाइ छ ।
‘हिसानको प्रतियोगितामा सहभागी खेलाडी विभिन्न तहका टिममा सहभागि छन् । विभिन्न खेलसंघ समन्वयन गरिएको छ । प्रतियोगितामा राम्रो खेल्नेलाई उनीहरुले छान्नेछन् । यसमार्फत खेलाडि राम्रो अवसर पाउँनेछन्,’ उनले भने ।
कक्षा ११ र १२ का विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमिन्टन र टेबल टेनिस लगायतका विधामा प्रतिस्पर्धा हुनेछ ।
हिसानका उपाध्यक्ष ढाकाराम कडेलले छात्र भलिबलमा ३८ टोली, छात्रा भलिबलमा २४ टोली, छात्र बास्केटबलमा ४६ टोली र छात्रा बास्केटबलमा २० टोली प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनका अनुसार टेबल टेनिस सिंगल र डबलमा २५० जना र ब्याडमिन्टन सिंगल तथा डबलमा २५८ जना खेलाडीले भाग लिनेछन् ।
स्पोट्र्स मिटमार्फत विद्यार्थीहरुमा शारीरिक स्वास्थ्य, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने उद्देश्य रहेको हिसान कास्कीका महासचिव किरण सापकोटाले बताए । उनले खेलकुदलाई शैक्षिक गतिविधिको महत्वपूर्ण अंगका रुपमा लिइएको जानकारी दिए ।
कार्यक्रममा भारोत्तोलनतर्फ अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी खेलाडी शर्मिला शाहलाई २५ हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ४० हजारभन्दा बढी दर्शक तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
संस्थाले गुणस्तरीय शिक्षासँगै सांस्कृतिक संरक्षण र खेलकुदको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया