‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी

समाधान संवाददाता २०८२ पुष १ गते १७:३९

पोखरा ।
पोखरामा विद्यालयस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।


सृजना विकास केन्द्रको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा ‘सृजना कप’ कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता–२०८२ आयोजना हुन लागेको हो । प्रतियोगिता २०८२ साल पुस २२ गतेदेखि २४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने आयोजक सृजना विकास केन्द्रले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र ‘स्कुल स्कुलमा भलिबल’ भन्ने मूल नारा सहित आयोजना हुन लागेको प्रतियोगितामा कास्की जिल्लाभित्रका सामुदायिक (सरकारी) विद्यालयका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने केन्द्रका अध्यक्ष चन्द्र गिरीले जानकारी दिए ।

Advertisement


प्रतियोगितामा झण्डै २० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । स्थानीय स्तरबाट खेल प्रतिभाको पहिचान गर्दै भावी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सृजना विकास केन्द्रले जनाएको छ । यस प्रतियोगिताले विद्यालयस्तरमै भलिबल खेलप्रति आकर्षण बढाउने र खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।


प्रतियोगितामा प्रथम हुने छात्र तथा छात्रा टिमले जनही १÷१ लाख रुपैयाँ नगद प्राप्त प्रतियोगिता संयोजक बालकृष्ण बरालले जानकारी दिए । उनका अनुसार दोस्रो हुनेले जनही ५०÷५० हजार र तेस्रो हुने विद्यालयले ३५÷३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका उत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर र बेस्ट प्रशिक्षकलाई जनही १÷१ थान भलिबल प्रदान गरिनेछ ।

Advertisement


प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताबाट १२ लाख ५० हजार रुपैयाँ आम्दानी गरी १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । बचत रकम सुजना विकास केन्द्रले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछ ।

तपाईको प्रतिक्रिया