पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान

पोखरा । पोखरा महानगरपालिकाले आज (बुधबार) आफ्नो ६७औँ स्थापना दिवस मनाउँदै छ । ऐतिहासिक तथ्यका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमाण भेटिएपछि महानगरले यसै वर्षदेखि आजको दिनलाई स्थापना दिवसका रूपमा मनाउन लागेको हो । यसअघि फागुन २७ गते स्थापना दिवस मनाउने गरिएको थियो ।
महानगर प्रमुख धनराज आचार्यका अनुसार अभिलेख हेर्दा २०१६ पुस २ गते ५ हजार जनसंख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएको छ । सोही आधारमा आज दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा आज बिहान पोखराको चिप्लेढुङ्गाबाट बृहत् सांस्कृतिक झाँकी र र्यालीसहितको प्रभातफेरि निकालिनेछ । प्रभातफेरि पोखरा सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।
‘पोखरेली नवरत्न’ र कर्मचारी सम्मान
स्थापना दिवसको अवसर पारेर महानगरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ९ जना विशिष्ट व्यक्तिलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गर्नेछ । भाषा, साहित्य, कला, शिक्षा, स्वास्थ्य, कृषि, समाजसेवा, खेलकुद तथा पर्यटन र विज्ञान प्रविधिलगायत क्षेत्रका व्यक्तिहरू सम्मानित हुनेछन् ।
नवरत्न सम्मान पाउनेलाई जनही २ लाख २ हजार २०२ रुपैयाँ नगद, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने प्रमुख आचार्यले बताए ।
यस्तै, समारोहमा महानगरमा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जनालाई पुरस्कृत गरिनेछ । महानगरका ३३ वडामध्ये सरसफाइमा उत्कृष्ट हुने ३ वटा वडा र महानगर मातहतका कार्यालयमध्ये उत्कृष्ट कार्यालयलाई पनि सम्मान गर्ने कार्यक्रम छ ।
महानगरले समयमै र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदाता र उमेरको ज्येष्ठताका आधारमा ज्येष्ठ नागरिकलाई ‘महानगर मातापिता’ सम्मान प्रदान गर्नेछ ।
स्थापना दिवसका अवसरमा आज महानगरपालिका र मातहतका कार्यालयहरूको नियमित सेवा प्रवाह बन्द रहनेछ । मूल समारोहमा भाग लिन पोखरासँग भगिनी सम्बन्ध कायम भएका स्वदेशी तथा विदेशी नगरका प्रतिनिधि, देशभरका महानगर र उपमहानगरका प्रमुखहरू तथा छिमेकी पालिकाका प्रमुखलाई निम्तो गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिए ।
विसं २०१६ पुस २ गते नगरपालिकाका रूपमा स्थापना भएको पोखरा २०५२ माघ १८ गते उपमहानगरपालिका बनेको थियो । २०७३ फागुन २७ गते साविकका ५ गाविस र लेखनाथ नगरपालिकासहित गाभिएर पोखरा लेखनाथ महानगरपालिका घोषणा भएको थियो । पछि २०७५ साउन २३ को मन्त्रिपरिषद् निर्णयले यसको नाम पोखरा महानगरपालिका कायम गरेको हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया