निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने

समाधान संवाददाता २०८२ पुष २ गते ७:०६

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन कडा नियम प्रस्ताव गरेको छ । आयोगले तयार पारेको प्रस्तावित आचारसंहिताअनुसार अब दल वा उम्मेदवारले प्रचारमा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न पाउने छैनन् ।

आयोगका अनुसार राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाइनेछ । झण्डाको अत्यधिक प्रयोग र दुरुपयोग नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ ।

प्रस्तावित आचारसंहितामा उम्मेदवार वा दलको कार्यालयमा ३ बाइ ४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न पाइनेछ । तर, प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र भिडियो देखाउन पाइनेछैन । दल तथा उम्मेदवारको नाम र चिह्न भएको एउटा मात्रै तुल वा फ्लेक्स प्रयोग गर्न सकिनेछ ।

Advertisement

२५ जनाभन्दा बढीको जुलुस निषेध

निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा भीडभाड गर्न नपाइने भएको छ । उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लैजान नपाइने प्रस्ताव आचारसंहितामा गरिएको छ । साथै, घरदैलोमा जाँदा बाजागाजा र झाँकी प्रदर्शन गर्न पनि रोक लगाइनेछ ।

Advertisement

डिजिटल डिस्प्ले र सवारी र्‍यालीमा रोक

आयोगले अनलाइन, वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलका डिस्प्ले, बैंकका एटिएम काउन्टरलगायतका स्थानमा दल वा उम्मेदवारको प्रचार गर्न रोक लगाउने प्रस्ताव गरेको छ । सडक नाटकका माध्यमबाट समेत प्रचार गर्न पाइनेछैन । यद्यपि, दल वा उम्मेदवारले आफ्नो निजी र आधिकारिक वेबपेजमा भने प्रचार सामग्री राख्न पाउनेछन् ।

त्यस्तै, दलको झण्डा वा चुनाव चिह्नको तोरण बनाएर सार्वजनिक प्रदर्शन गर्न पाइनेछैन । भित्तेलेखन गर्न पूर्ण रूपमा निषेध गरिएको छ । आयोगले चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, रिक्सा, टाँगा वा ठेलागाडा प्रयोग गरी र्‍याली निकाल्न नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ । निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन यस्तो प्रस्ताव गरिएको आयोगको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया