मादी पुल वैशाखभित्रै बन्ने

राष्ट्रिय समाचार समिति (रासस) २०८२ पुष २ गते १२:३७
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदी माथि निर्माणधीन ३१५ मिटर लामो आर्क डिजाइनको पुल निर्माणमा खटिएका मजदुर । निर्माण कम्पनीका अनुसार हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । तस्बिर ः सानेबहादुर नेपाली / रासस

दमौली ।
मुग्लिन–पोखरा सडक अन्तर्गत दमौली बजारमा बनिरहेको ४ लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका ४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।


उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ ।


पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनी भन्छन्, ‘पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।’ उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

Advertisement


३ सय १५ मिटर लामो पुलमा ६ वटा स्पान रहनेछन् । पुलको वारिपारि दुई–दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । पाण्डेले भने, ‘मिडल स्पान दुईवटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ ।’


१ अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ । सूचना अधिकारी पाण्डेले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काममात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँचमार्गको काम भने बल्ल सुरु भएको छ ।

Advertisement


निर्माण कम्पनीका व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माणको काम सकिने जानकारी दिए । असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्नेगरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक १ सय ५० कामदार खटाइएको छ ।


छ वटा स्पानमध्ये दुईदुई स्पानको काम सकिएको र बीचको दुईवटा स्पान ६३ मिटरको काम भइरहेको छ । पुलको दायाँबायाँ ५ सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको श्रेष्ठले उल्लेख गरे । उनी भन्छन्, ‘बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।’


पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल ४ लेनको हुनेछ । हाल नदीमाथि रहेको २ लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । रासस

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया