दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

राष्ट्रिय समाचार समिति (रासस) २०८२ पुष २ गते १४:३७
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदी माथि निर्माणधीन ३१५ मिटर लामो आर्क डिजाइनको पुल निर्माणमा खटिएका मजदुर । निर्माण कम्पनीका अनुसार हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । तस्बिर ः सानेबहादुर नेपाली / रासस

तनहुँ ।

मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ ।

पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा दैनिक एक सय ३० जना कामदार परिचालन गरिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी  दिए । उनका अनुसार यातायात आवागमनका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण भइरहेको छ । 

तीन सय १५ मिटर लामो यस पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । “सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको हो”, इञ्जिनियर पाण्डेले भने, “पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको छ । ” 

अहिले पुलको ढलान गर्नुपूर्वको फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत काम भइरहेको छ ।” उहाँका अनुसार चार लेनको एउटै बेस निर्माण गरिएको उक्त पुल पृथ्वी राजमार्गकै पहिलो र लामो छ ।

गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मलाई समय थपिएको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनले भने, “जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दसैँ लगत्तैदेखि पुनः निर्माणले गति लिइरहेको छ ।” उनका अनुसार पुलमा छ वटा स्पान हुनेछन् ।

पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए । 

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी–जामुनेसम्मको ४१ दशमलव ४५ किमी कालोपत्र सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया