सार्वजनिक सुनुवाइमा अन्नपूर्णका स्थानीयका गुनासै गुनासा

समाधान संवाददाता २०८२ पुष २ गते १८:२६

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक प्रगतिबारे सोमबार सार्वजनिक सुनुवाइ गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. ५ को कार्यालय झोबाङमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा उनले यस अवधिमा भएका मुख्य प्रगति, बजेट खर्चको अवस्था र सेवा प्रवाहमा देखिएका सुधारबारे विस्तृत जानकारी प्रस्तुत गरे । त्यसपछि वडावासीले सडक निर्माण, भूमि व्यवस्थापन, विपद् व्यवस्थापन, कर प्रणाली, कृषि अनुदान र खानेपानी योजनासम्बन्धी समस्या औँल्याए । केन्द्रबाट गिरिचोक हुँदै मौजा जोड्ने सडकको अवस्था र ठेकदारको जवाफदेहिताबारे स्थानीय नरहरि पौडेलले प्रश्न उठाए ।

संघ र प्रदेश सरकारबाट आएका योजनाको अनुगमन जिम्मेवारी स्पष्ट पार्न ध्रुवराज पौडेलले माग गरे । भूमी व्यवस्थापनका समस्यामा गम्भीर चिन्ता व्यक्त गर्दै हरिबहादुर केसीले २०३६ देखि भूमिगत सर्भे नभएको र विकास निर्माणका बाबजुद लगत कट्टा नहुँदा जनतालाई भोग्नुपरेको समस्या बताए । ६ मिटरको बाटो दुई वर्षमा ३ मिटरमा झरेको उल्लेख गर्दै उनले स्थानीय सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।

Advertisement

स्थानीयले सडक निर्माण, भूमि व्यवस्थापन, विपद् व्यवस्थापन, कर प्रणाली, कृषि अनुदान र खानेपानी योजनासम्बन्धी समस्या औंल्याए

साँझखोलामा पहिरोले बाटो बगाएपछि पुल निर्माणका लागि विपद् व्यवस्थापन समितिको निर्णय आवश्यक रहेको सहबहादुर विकले बताए । संघ, संस्थाको कर प्रणालीमा देखिएको असमानताप्रति पनि उनले गुनासो छ ।

Advertisement

गोविन्द मणि पौडेलले जन्मदर्ताको अनलाइन प्रक्रियामा दोहोरो शुल्क लाग्ने, बालकर दर ग्रामीण क्षेत्रमा उच्च हुने, सम्पत्ति कर घटाउनुपर्ने र कृषि अनुदान निरन्तरता दिनुपर्ने विषय उठाए । गिरिचोक–मौजा पर्वत सडकको बजेट खर्च विवरण पारदर्शी बनाउन र धोभाङ फाँटमा सिँचाइ योजना ल्याउन उनको माग छ ।

लान्द्रुक खानेपानी योजना जग्गा अभावमा अलपत्र परेको र डिपिआरमा नै ठूलो रकम खर्च भएको नहेन्द्रबहादुर क्षेत्रीले बताए । विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अतिरिक्त कक्षा र युरोगार्डका लागि धाराको आवश्यकता रहेको देवी पौडेलले औंल्याइन् । विपद् व्यवस्थापनका सामग्री वडा कार्यालयमै राख्न ईश्वरबहादुर क्षेत्रीले माग गरे ।

२०७८–७९ को बाढीपछि घर भत्किएपछि सहुलियत नपाएको कालिका देवी पौडेलले गुनासो गरिन् । कार्यक्रममा स्थानीयले उठाएका विभिन्न गुनासोप्रति प्रतिवद्धता जनाउँदै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाको स्रोत र कानुनी दायराभित्र रहेर योजनाबद्ध रूपमा समाधानतर्फ अघि बढिरहेको बताए ।

‘हामी स्रोत र कानुनी प्रक्रियाभित्र बसेर काम गरिरहेका छौं,’ उनले भने । ठेकदारलाई निर्देशन दिने, भूमि व्यवस्था कार्यालयसँग समन्वय गर्ने, विपद् व्यवस्थापन समितिको बैठक बोलाउने, कर प्रणाली व्यवस्थित गर्ने र जन्मदर्तामा दोहोरो शुल्क समाधान गर्ने बताए। सम्पत्ति कर पुनरावलोकन गर्ने र कृषि अनुदान निरन्तरता दिने विषयमा पनि उनले आश्वासन दिए ।

शीतला विद्यालयको कम्प्युटर मर्मतका लागि तत्काल बजेट दिने, लान्द्रुक खानेपानीको जग्गा व्यवस्थापनमा वडासँग समन्वय गर्ने र बाढीपीडितको सहुलियतका लागि पुनः पहल गर्ने उनको भनाइ छ । प्राकृतिक स्रोत सदुपयोगका लागि नीति बनाएर स्थानीय लाभ सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

वडा नं. ५ का वडा अध्यक्ष जीवनाथ पौडेलले सार्वजनिक सुनुवाइले जनसहभागिता र स्थानीय तहको जवाफदेहिता बढाउने बताए । कार्यक्रमका उठेका प्रश्नको जवाफ दिँदै उनले वडाले प्राथमिकता निर्धारण गरी सडक, खानेपानी, शिक्षा र कृषि जस्ता मुख्य आवश्यकतामा पहल गर्ने बताए । उनले स्थानीयको सुझाव र गुनासोलाई ध्यानमा राख्दै योजनाहरू कार्यान्वयन गर्ने प्रतिवद्धता पनि गरे । आमा पब्लिकेसन मिडियाका तर्फबाट कार्यक्रम सञ्चालन पत्रकार सागर ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया