‘पोखरा २४ घन्टा खुला’ गर्न पर्यटन व्यवसायीलाई छैनन् तयार, भन्छन्– ३ सिफ्टमा कर्मचारी खटाउन सकिँदैन

पोखरा । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ‘पोखरा २४ घन्टा खुला’ भन्ने प्रचारले पोखराको पर्यटनमा उल्टै असर गरेको बताएका छन् । मंगलबार पोखरामा आयोजित संघको ४३औँ वार्षिक साधारणसभामा उनले यस्तो भ्रमपूर्ण प्रचारले व्यवसायी र पर्यटक दुवैलाई सास्ती भएको गुनासो गरे ।
अध्यक्ष सुवेदीले सम्बन्धित निकायसँग मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीले मात्र २४ घन्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था रहेको प्रस्ट पारे । तर बाहिर सन्देश जाँदा सिङ्गो लेकसाइड र पोखरा नै रातभर खुला हुन्छ भन्ने गलत हल्ला फैलिएको उनको भनाइ छ । ‘पर्यटकहरू रातभर खुला भनेको होइन र ? भनेर गुनासो गर्नुहुन्छ,’ सुवेदीले भने, ‘यही भ्रमका कारण कतिपय आन्तरिक पर्यटकले राति २ बजे खाना अर्डर गर्दा व्यवसायीले दुःख पाएका छन् । ३ सिफ्टमा कर्मचारी व्यवस्थापन गरेर रातभर सेवा दिन सक्ने अवस्था हाम्रो छैन ।’ उनले २४ घन्टा खुला गर्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ भनेर प्रचार गरिए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए ।
कार्यक्रममा व्यवसायीले सरकारको नीतिगत झन्झटप्रति पनि असन्तुष्टि जनाए । २५ बेडभन्दा माथिका होटललाई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अनिवार्य गरिँदा साना व्यवसायी मारमा परेको सुवेदीले बताए । ‘साना होटलले यस्तो व्यवस्था कार्यान्वयन गर्न गाह्रो छ,’ उनले भने, ‘यो नियम अव्यावहारिक हुँदा थुप्रै होटल नवीकरण हुन सकेका छैनन् ।’ सरकारले व्यवसायीलाई सहजीकरण गर्नुको साटो दुःख दिएको उनको आरोप छ ।
२४ घन्टा खुलाको भ्रम, २५ बेडका होटललाई वातावरणीय परीक्षणको सकस र आन्तरिक पर्यटकको वृद्धिबारे छलफल
चुनौतीका बाबजुद संघले पोखराको प्रवर्द्धनमा भने महत्त्वपूर्ण सफलता हासिल गरेको तथ्यांक प्रस्तुत गरियो । ‘जाउँ है पोखरा’, ‘चलिए पोखरा’ र ‘पोखराः प्युर एन्ड पर्फेक्ट’ जस्ता अभियानका कारण पोखरा आउने पर्यटकमध्ये नेपालीको हिस्सा ३ प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीले जानकारी दिए । भाइटीका महोत्सवलाई निरन्तरता दिइएको र पोखराबाट विभिन्न देशमा सीधा हवाई उडानका लागि राजदूतहरूसँग छलफल भइरहेको पनि उनले बताए ।
साधारणसभाको उद्घाटन संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले गरेका थिए । उनले संघले पोखराको पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै व्यावसायिक हकहितका लागि निरन्तर अघि बढ्न सुझाव दिए । कार्यक्रममा संघका सचिव पार्वती पाण्डेले भावी कार्यक्रम र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल ‘रमेश’ ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा होटल संघ पोखरा र संयुक्त समाज नेपालबीच पोखरालाई दिगो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सम्झौतासमेत भएको छ । यसमा दिगो परियोजना स्विसकन्ट्याक्ट नेपालको प्राविधिक सहयोग रहने जनाइएको छ । सभामा विशाल ग्रुपका तरुण अग्रवालले विद्युतीय सवारीबारे जानकारी गराएका थिए भने संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए ।








कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया