कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल

समाधान संवाददाता २०८२ पुष २ गते १९:३४

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा मात्रै जिल्लामा विभिन्न अपराध शीर्षकमा १८६ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी हरिबहादुर बस्नेतका अनुसार दर्ता भएका मुद्दामध्ये आर्थिक अपराधका सबैभन्दा बढी ७८ वटा छन् । यस्तै, जघन्य तथा गम्भीर अपराधमा ३३, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ र अन्य अपराध शीर्षकमा ६८ वटा मुद्दा दर्ता भएका छन् । यी मुद्दाहरूमा संलग्न रहेको आरोपमा प्रहरीले १३८ जनालाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन र राजस्व संकलन
फैसला कार्यान्वयनतर्फ प्रहरीले उल्लेख्य सफलता हात पारेको छ । एक महिनाको अवधिमा अदालतबाट दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ६ महिना कैद भुक्तान हुनुका साथै ३५ लाख १२ हजार ६ सय रुपैयाँ जरिवाना तथा बिगो रकम असुल उपर भएको छ ।

Advertisement

ट्राफिक कारबाहीबाट २६ लाख राजस्व
कास्की प्रहरीले ट्राफिक व्यवस्थापन र कारबाहीलाई पनि तीव्र पारेको छ । मंसिर महिनामा नियम उल्लंघन गर्ने ३ हजार ८७ सवारी साधनलाई कारबाही गर्दा २६ लाख ४९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यो अवधिमा जिल्लाभर ८ वटा सवारी दुर्घटना भएका छन्, जसमा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण तीव्र गति (७ वटा) र चालकको अशक्षमता (१ वटा) रहेको प्रहरीको विश्लेषण छ ।

Advertisement

लागुऔषध र अन्य अपराध
‘लागुऔषध नियन्त्रण सम्बन्धी कार्ययोजना–२०८२’ अनुसार प्रहरीले अपरेसन चलाउँदा १४ वटा घटनामा २१ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ११७ एम्पुल ब्रुफिनुर्फिन, १२२ एम्पुल डाइजापाम, १२५ एम्पुल फेनारगन, १ किलो १५० ग्राम गाँजा, ३८.५४ ग्राम ब्राउनसुगर र १.३३ ग्राम चरेस बरामद गरिएको छ ।

यस्तै, कर्तव्य ज्यान मुद्दामा २ जना, चोरी तथा प्राकृतिक सम्पदा दोहनमा संलग्न सवारी साधनहरूलाई पनि नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सामाजिक अपराध र आत्महत्या
मंसिर महिनामा आत्महत्याका ८ वटा घटना (सबै झुण्डिएर) दर्ता भएका छन् । जसमा १८ देखि ४० वर्ष उमेर समूहका ४ जना रहेका छन् ।

यसैगरी, घरेलु हिंसासम्बन्धी १९ वटा उजुरी परेकोमा १३ वटा मिलापत्र गराइएको छ । सामाजिक हिंसाका २९ वटा ठाडो उजुरी परेका छन् । हराएका ४३ जनामध्ये २२ जना फेला परेको र अघिल्लो महिना हराएका १३ जनासमेत गरी कुल ३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रहरीले अपराध न्यूनीकरणका लागि समुदाय र विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । मंसिरमा ९३ वटा समुदाय केन्द्रित र २७ वटा विद्यालय केन्द्रित कार्यक्रममार्फत करिब १० हजार नागरिक र विद्यार्थीलाई सचेत गराइएको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया