पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै

समाधान संवाददाता २०८२ पुष २ गते २०:०४

पोखरा । सरकारले नेपाली सेनाका ६ उपरथीको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार तीनवटा पृतनाका पृतनापति फेरिएका छन् । जसमा पश्चिम पृतना पोखरा, मध्य पृतना हेटौँडा र मध्यपश्चिम पृतना बुटवलका पृतनापति हेरफेर भएका हुन् ।

यो निर्णयसँगै पोखरास्थित पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी भोलानाथ थापा आउने भएका छन् । यसअघि सैनिक मुख्यालय जंगी अड्डामा निरीक्षणाधिकृतको रूपमा कार्यरत थापालाई पश्चिम पृतना पोखरा सरुवा गरिएको हो ।

यस्तै, पश्चिम पृतनाका वर्तमान पृतनापति उपरथी मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छ ।

Advertisement

अन्य कुन पृतनामा को ?

मध्य पृतना हेटौँडाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ । उनी यसअघि जंगी अड्डामा अतिरिक्त समूहमा थिए । त्यहाँ कार्यरत पृतनापति हरेन्द्र पाठकलाई प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा गरिएको छ ।

Advertisement

त्यस्तै, मध्यपश्चिम पृतना बुटवलमा उपरथी हिम्मतबहादुर विष्टलाई पठाइएको छ । विष्ट यसअघि स्टाफ कलेज शिवपुरीमा कार्यरत थिए । बुटवलका पृतनापति प्रेमबहादुर पुनलाई जंगी अड्डा तानिएको छ ।

सेनाका अन्य ५ पृतनामा भने नेतृत्व परिवर्तन गरिएको छैन । पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी, उपत्यका पृतनामा रवीन्द्र खत्री, मध्यपूर्व पृतनामा कृष्णबहादुर जिसी, उत्तरपश्चिम पृतनामा दिपेशजंग शाह र सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी यथावत रहेका छन् ।

तपाईको प्रतिक्रिया