पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित

समाधान संवाददाता २०८२ पुष २ गते २०:३०

पोखरा । पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नौ जना विशिष्ट व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ बाट सम्मान गरेको छ । बुधबार महानगरको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा संगीत, साहित्य, समाजसेवा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रका हस्तीहरूलाई सम्मान गरिएको हो ।

विसं २०५५ मा सुरु भएर बीचमा रोकिएको यो सम्मानलाई महानगरले १० वर्षपछि पुनः निरन्तरता दिएको छ । यस वर्ष नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ (गायन–संगीत), साहित्यकार तीर्थ श्रेष्ठ, उद्योगी चन्द्रकान्त बराल (धार्मिक पर्यटन–कृषि उद्यम), समाजसेवी चन्द्रकृष्ण कर्माचार्य र पत्रकार तिलकमान गुभाजु सम्मानित भए ।

Advertisement

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा बुद्धिबहादुर थापा (स्वास्थ्य), प्राडा वीरेन्द्रसिंह गुरुङ (खेलकुद–शिक्षा), रामकली खड्का (उद्यमशीलता) र हरिप्रसाद पाण्डे (शिक्षा–उद्योग) लाई पनि सोही सम्मान प्रदान गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगर प्रमुख धनराज आचार्यले उनीहरूलाई सम्मान गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमको समापन गर्दै महानगरले पोखराको चिनारीका रूपमा सारंगी पार्कको शिलान्यास पनि गरेको छ । विसं २०१६ पुस २ गते पोखरा नगरपालिकाका रूपमा स्थापित यो संस्था विभिन्न चरण पार गर्दै २०७५ साउन २३ गते पोखरा महानगरपालिका बनेको थियो ।

Advertisement

१०४ वर्षीयलाई ‘मातापिता’ को सम्मान
स्थापना दिवसकै अवसरमा १०४ वर्ष पुगेका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर मातापिता’ घोषणा गरिएको छ । पोखरा–२८ आरुपाटाकी १०४ वर्षीया झ्याउरी तिमिल्सिनालाई ‘महानगर माता’ र पोखरा–३२ डाँडाखर्कका १०४ वर्षीय काशीनाथ पण्डितलाई ‘महानगर पिता’ का रूपमा दोसल्ला र सम्मानपत्रसहित सम्मान गरियो ।

मणिपाललाई उत्कृष्ट करदाता सम्मान, मुद्दा भने विचाराधीन
महानगरले पोखरा–११ स्थित मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालि (मणिपाल शिक्षण अस्पताल) लाई सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा सम्मान गरेको छ । मणिपालले गत आर्थिक वर्षमा मालपोत, सम्पत्ति र व्यवसाय कर गरी ३६ लाख १४ हजार १५ रुपैयाँ बुझाएको थियो ।

यद्यपि, मणिपालको नक्सा पास दस्तुरसम्बन्धी करिब २० करोड राजस्व विवाद भने अझै सर्वोच्च अदालतमा विचाराधीन छ । २०७९ जेठमा वर्तमान कार्यपालिकाले मणिपाललाई नक्सा पासमा भारी छुट दिने निर्णय गरेपछि यो विषय विवादित बनेको थियो । अख्तियारको छानबिन र अदालतको प्रक्रिया चलिरहँदा पनि नियमित कर दाखिलाका आधारमा महानगरले मणिपाललाई सम्मान गरेको हो ।

कर्मचारी र वडा पनि पुरस्कृत
महानगरले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई सर्वोत्कृष्ट कर्मचारीको सम्मान दिएको छ । उनीसँगै १० जना कर्मचारीलाई उत्कृष्ट र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा पुरस्कृत गरिएको छ । साथै, सरसफाइमा उत्कृष्ट हुने ३ वटा वडा र महानगर मातहतका कार्यालयलाई पनि सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा यसअघि महानगरले शिक्षक–विद्यार्थी सम्मान, रक्तदान, कृषि हाजिरीजवाफ, सरसफाइ र न्यानो कपडा वितरणजस्ता कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया