लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न

समाधान संवाददाता २०८२ पुष ३ गते ६:१५

पोखरा । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवसका अवसरमा ९ जनालाई ‘पोखरा रत्नबाट सम्मान २०८२’ प्रदान गरेको छ । कला, संस्कृति, संगीत, समाजसेवा र पर्यटन प्रवद्र्धनमार्फत पोखरा र समग्र नेपालको पहिचान स्थापित गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै महानगरले यो सम्मान अर्पण गरेको हो ।

सम्मानित हुनेमध्ये गायक तथा संगीतकार अमृत गुरुङ रहेका छन् । पोखरालाई कर्मथलो बनाएर लोकरक संगीतमार्फत नेपाली भाषा, संस्कृति, जनजीवन र सामाजिक चेतनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई पोखरा महानगरपालिकाको सर्वोच्च सम्मान पोखरा रत्न सम्मान प्रदान गरिएको महानगरले जनाएको छ । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।

महानगरका अनुसार नेपथ्य ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले नेपाली लोकधुनलाई आधुनिक पप र रक शैलीसँग संयोजन गरी नयाँ पुस्तामाझ लोकप्रिय बनाएका छन् । ‘छेक्यो छेक्यो एउटा चिठ्ठी’, ‘जोमसोमे बजारमा’, ‘रेशम’, ‘भेडाको ऊन जस्तो’, ‘तालको पानी’, ‘मेरो देश’, ‘रंगिन चरा’, ‘आमा’, ‘जोगले हुन्छ भेट’, ‘सालैजो’, ‘सिरानमा फोटो छ’, ‘सिरफुल’, ‘कोशीको पानी’ र ‘नैना ताल’ जस्ता गीतमार्फत उनले नेपाली समाजका पीडा, आशा, संघर्ष र पहिचानलाई संगीतमा उतारेका छन् ।

Advertisement

नेपथ्य ब्याण्ड सन् १९९० मा दीपक राना, भीम पुन र अमृत गुरुङको पहलमा गठन भएको हो । समयक्रममा ब्याण्डमा २४ जना नयाँ कलाकार आए–गए पनि नेपथ्यको निरन्तरता, लोकप्रियता र सामाजिक स्वीकार्यता कायम रहँदै आएको छ । हालसम्म ब्याण्डले १० वटा एल्बम सार्वजनिक गरिसकेको छ । ‘बरसातको मौसम’ समेटिएको पहिलो एल्बमदेखि ‘एल्बम एक्स’ सम्म आइपुग्दा नेपथ्यले नेपाली संगीतमा लोकरकको पृथक पहिचान निर्माण गरेको छ ।

अमृत गुरुङको नेतृत्वमा नेपथ्यले नेपालभित्र ५० भन्दा बढी सहरमा ११५ भन्दा बढी कन्सर्ट गरिसकेको छ भने विदेशका १९ देशका ५४ सहरमा १०८ वटा कन्सर्ट प्रस्तुत गरिसकेको छ । ती कन्सर्टहरू केवल मनोरञ्जनमा सीमित नरही पर्यटन प्रवद्र्धन, नेपाली पहिचान विस्तार र सामाजिक उत्तरदायित्वसँग जोडिएका छन् ।

Advertisement

नेपथ्यले सन् २००१ यताका वर्षहरूमा ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर शान्त नेपाल–शान्ति संगीत यात्रा’ जस्ता अभियानमार्फत सामाजिक कन्सर्ट यात्राहरू सञ्चालन गरेको छ । ती यात्राबाट संकलित रकम विद्यालय, सामाजिक संस्था र विपन्न समुदायका लागि उपयोग गरिएको छ । सन् २००२ को शान्तिका लागि शिक्षा यात्राबाट करिब ४ लाख रुपैयाँ विद्यालयको शैक्षिक पूर्वाधारमा सहयोग गरिएको थियो भने सन् २००४ मा करिब १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई प्रदान गरिएको थियो ।

त्यसैगरी मेरुदण्ड चोट पुनस्र्थापना केन्द्र, विभिन्न विद्यालय, सामाजिक संस्थाका लागि लाखौँ रुपैयाँ सहयोग संकलन गरिएको छ । सन् २०१५ मा मेलबर्न, टोकियो र दुबईमा भएका कन्सर्टबाट नेपाल भूकम्पपीडितका लागि ४० लाख रुपैयाँभन्दा बढी रकम संकलन गरिएको थियो । सन् २०२२ को ‘मानवताको लागि संगीत’ नेपाल यात्राबाट मानवसेवा आश्रमका विभिन्न केन्द्रहरूको पूर्वाधार विकासका लागि करिब १ करोड रुपैयाँ सहयोग जुटाइएको थियो ।

पोखरा महानगरपालिकाले सम्मान पत्रमा अमृत गुरुङले संगीतमार्फत पोखरा र नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि गर्नुका साथै शान्ति, सद्भाव, शिक्षा र मानवताको पक्षमा निरन्तर योगदान दिएको उल्लेख गरेको छ । ‘संगीतको माध्यमबाट देशभित्र र विदेशमा रहेका सबै पुस्तालाई नेपाली पहिचानसँग जोड्न उनले खेलेको भूमिका अतुलनीय छ ।

६७औं स्थापना दिवसका अवसरमा प्रदान गरिएको पोखरा रत्न सम्मानलाई पोखरा महानगरपालिकाले आफ्नो सर्वोच्च नागरिक सम्मानका रूपमा व्याख्या गरेको छ ।

तपाईको प्रतिक्रिया