लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न

समाधान संवाददाता २०८२ पुष ३ गते ६:१२

पोखरा । लेखनाथ क्षेत्रलाई औद्योगिक, व्यापारिक र सामाजिक रूपान्तरणको केन्द्र बनाउन लामो समयदेखि योगदान दिँदै आएका समाजसेवी तथा उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा महानगरपालिकाको ‘पोखरा रत्नबाट सम्मान गरेको छ । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।


पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा महानगरले उनका औद्योगिक लगानी, रोजगारी सिर्जना, खानेपानी आपूर्ति, शहरी विकास र संस्थागत नेतृत्वमा दिएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गरेको हो ।


पोखरा २६ लेखनाथलाई कर्मथलो बनाउँदै कर्माचार्यले कर्माचार्य ग्रुपमार्फत बिस्कुट, तेल, चकलेट, चामल, चिउरा, आँटा तथा डेरीजन्य उत्पादन गर्ने उद्योग स्थापना गरेका छन् । ती उद्योगमार्फत करिब ५०० जनालाई प्रत्यक्ष रोजगारी दिइएको महानगरले जनाएको छ । औद्योगिक उत्पादनसँगै चुरोट तथा दैनिक उपभोग्य सामग्रीको व्यापारसमेत छ ।
उद्योग र व्यापार प्रवद्र्धनमा संस्थागत नेतृत्व दिएको योगदानका कारण उनी लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बनेका थिए । २०५४ देखि २०५८ सम्मको कार्यकालमा उनले लेखनाथ क्षेत्रमा उद्योग–व्यवसाय विस्तार, सहजीकरण र निजी क्षेत्रको सशक्त भूमिकामा निभाउँदै आएका छन् । त्यसअघि २०४६ देखि २०४८ सम्म पृथ्वीराजमार्ग बस सञ्चालक समितिको अध्यक्षका रूपमा पनि उनले काम गरे ।

Advertisement


सामाजिक सेवामा समेत सक्रिय कर्माचार्य लेखनाथ विकास समाजका अध्यक्ष तथा लेखनाथ साना शहरी खानेपानी उपभोक्ता संस्थाका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष हुन् । खानेपानी आपूर्ति, पूर्वाधार विकास र शहरीकरणका क्षेत्रमा उनले खेलेको भूमिकालाई पोखरा महानगरपालिकाले ‘अमूल्य सामाजिक योगदान’का रूपमा मूल्यांकन गरेको छ ।


कर्माचार्य राष्ट्रिय तहका विभिन्न संस्थामा पनि नेतृत्वदायी भूमिकामा रहे । उनी करिब ८ वर्ष नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य रहे भने २०७० देखि २०७२ सम्म नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्ष बने । साथै उनी राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका महासचिव पनि रहे ।

Advertisement


सुशासन र पारदर्शिताको क्षेत्रमा समेत उनको सक्रियता देखिन्छ । उनी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, पोखरा सपोर्ट ग्रुपका उपाध्यक्ष, सुशासनका लागि नागरिक समाजका संस्थापक अध्यक्ष तथा प्रजातान्त्रिक व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष हुन् । यसबाहेक लायन्स क्लब अफ पोखरा, कर्माचार्य समाज गण्डकी प्रदेश तथा कास्की शाखा, कर्माचार्य समाज केन्द्रीय समिति लगायत संस्थामा उनी विभिन्न भूमिकामा संलग्न छन् ।


व्यक्तिगत सामाजिक सेवाअन्तर्गत कर्माचार्यले वार्षिक १ लाख १ हजार रुपैयाँ राशिको ‘चन्द्र–लक्ष्मी ज्येष्ठ नागरिक सेवा पुरस्कार’ लेखनाथ उद्योग वाणिज्य संघमार्फत स्थापना गरेका छन् । त्यस्तै वार्षिक १ लाख रुपैयाँको ‘लक्ष्मीसुन्दरी मिर्गौला पीडित सहयोग कोष’ कर्माचार्य समाज तथा महिला समाज कास्कीमार्फत सञ्चालन हुँदै आएको छ । उनी नेपाल रेडक्रस सोसाइटी कास्की, नेपाल कुष्ठरोग निवारण समाज कास्की र नेपाल परिवार नियोजन संघ कास्कीका आजीवन सदस्य पनि हुन् ।


२००७ फागुन ४ गते जन्मिएका कर्माचार्य स्नातक उत्तीर्ण हुन् । विजयपुर २६ स्थायी बसोबास उनका तीन सन्तान र तीन नाति–नातिनी छन् । उनले जापान, हङकङ, थाइल्यान्ड, फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम, नेदरल्यान्ड्स, सिंगापुर, अस्ट्रेलिया, मलेसिया, फिलिपिन्स, श्रीलंका र बंगलादेशको भ्रमण गरिसकेका छन् ।


पोखरा महानगरपालिकाले पोखरा रत्न सम्मान अर्पण गर्दै आगामी दिनमा पनि समाज, उद्योग र विकासका क्षेत्रमा कर्माचार्यबाट थप योगदानको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया