कृषि उद्यम र पुम्दीकोटको धार्मिक पर्यटन उचाल्ने चन्द्रकान्त बराल पोखरा रत्न

पोखरा ।
पोखरा महानगरपालिकाले कृषि उद्यमशीलता र धार्मिक पर्यटन विकासमार्फत पोखराको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याएका चन्द्रकान्त बराललाई ‘पोखरा रत्न सम्मान–२०८२’ प्रदान गरेको छ । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।
महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा उनलाई महानगरको सर्वोच्च सम्मान अर्पण गरिएको हो ।
पोखरा–२२ पुम्दीकोटलाई कर्मथलो बनाएर बरालले कृषि, पशुपालन, कुखुरा पालन र फिड उद्योगमार्फत रोजगारी सिर्जना र आर्थिक सशक्तिकरणमा भूमिका खेलेका छन् । त्यसैगरी पुम्दीकोटमा विशाल महादेव मूर्ति स्थापना गर्ने परिकल्पनादेखि पनि बराल नै हुन् । मूर्ति स्थापनाकोे गुरु योजनामा निर्माण, स्रोत संकलन र पूर्वाधार विकाससम्मको नेतृत्व उनले गरे । अहिले यो क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पोखरा रत्नबाट पुरस्कृत गरेको हो ।
महानगरपालिकाले सम्मान पत्रमार्फत ‘कृषि उद्यमबाट सामाजिक–आर्थिक कृषि क्रान्ति सम्भव बनाउँदै धार्मिक पर्यटन विकासमार्फत पोखराको समृद्धिमा पु¥याएको अमूल्य योगदानका लागि पोखरा रत्न सम्मान अर्पण गरिएको’ उल्लेख गरेको छ । साथै आगामी दिनमा पनि उनको सिर्जनशील योगदानको अपेक्षा गर्दै स्वस्थ, दीर्घ र प्रेरणादायी जीवनको कामना गरिएको छ ।
वि.सं. २०१२ मा कास्कीको तत्कालीन लुकुन्स्वारा गाउँ पञ्चायत ५ मा जन्मिएका बराल हाल पोखरा महानगरपालिका–२२ पुम्दी डाँडाथोकमा बसोबास गर्दै आएका छन् । उनका पिता स्वर्गीय डिल्लीराम बराल र माता कलावती बराल हुन् । १४ सन्तानमध्ये साइलो पुत्र रहेका बरालले २०३७ तिर बंगुर पालनबाट व्यवसायिक यात्रा सुरु गरेका थिए ।
त्यसपछि उनले कृषि, पशुपालन, कुखुरा पालन र फिड उद्योगलाई विस्तार गर्दै पोखरा, पुम्दी, चितवन, वीरगञ्ज, विराटनगर, हेटौंडा र भैरहवामा व्यवसाय फैलाएका छन् । बराल फिड इन्डस्ट्रिज, हिलपोइन्ट पोल्ट्री फार्म, ओम चावो बिरो फिड इन्डस्ट्रिज, ओम चावो बिरो प्यालेट फिड इन्डस्ट्रिज, पोषक ब्रिडर फार्म, फेवा मिट प्रोडक्ट, सिटी कोल्ड स्टोर र फेवा चिकन पोइन्ट उनका प्रमुख उद्योग हुन् । यी उद्योगमार्फत सयौंलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ । ओम चावो बिरो फिड इन्डस्ट्रिजमा मात्रै करिब ३०० जनाले रोजगारी पाएका छन् भने अन्य उद्योगमा गरी सयौँ जनालाई रोजगार उपलब्ध भएको छ ।
बराल ठूला करदाता, कृषक उत्पादनका प्रमुख खरिदकर्ता र रोजगारदाता समेत हुन् । पोषक ब्रिडर फार्म प्रालि नेपाल सरकारबाट ‘२०८०/०८१ मा सबैभन्दा बढी आयकर तिरेको कृषि तथा पशुपंक्षीजन्य उद्योग’ का रूपमा सम्मानित भइसकेको छ ।
धार्मिक पर्यटनतर्फ बराल पुम्दीकोट धार्मिक पर्यटकीय क्षेत्रका परिकल्पनाकार मानिन्छन् । पुम्दीकोटमा ५१ फिट अग्लो भुमेश्वर महादेव मूर्ति स्थापना, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शिवकुण्ड, १०८ स्वर्गद्वारी सिँढी र २१६ शिवलिंग निर्माणमार्फत उक्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा उनी सक्रिय रहे । २०७३ फागुन ३ देखि १३ गतेसम्म आयोजित महायज्ञबाट ६ करोड १८ लाख रुपैयाँ नगद संकलन गरिएको थियो भने २० रोपनी जग्गा प्राप्त भएको छ । त्यसका अतिरिक्त करिब ६ करोड ५० लाख रुपैयाँ बराबरको सरकारी अनुदान, समितिका लागि १ करोड २० लाख रुपैयाँ नगद सहयोग र ५५ लाख रुपैयाँ बराबरको स्कोर्पियो गाडी सहयोग जुटाउने उनले भूमीका निर्वाह गरे ।
बरालले करिब ४ करोड रुपैयाँ मूल्य बराबरको ५१ फिट शिव मूर्ति दान गरेका छन् । दानवीर मुरलीधर रुंगटाबाट ५ करोड रुपैयाँ संकलन गरेका थिए । यस्तै अन्य दाताबाट १ लाखदेखि ५० लाख रुपैयाँसम्म सहयोग जुटाएका थिए ।
धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ । स्याङ्जाको छाछाहिद, पर्वतको मोदीबेनी, धादिङको सल्यानटार, देवघाट, गल्याङ उत्तरवाहिनी, पर्वत ठुलिपोखरी वाटुलेचौर, मुस्ताङको विमानस्थल नजिकलगायत स्थानमा १० फिटदेखि २० फिट अग्ला शिव तथा नरसिंह मूर्ति प्रदान गरेका छन् । स्वदेशभित्र रहेका प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको पहिचान गरी प्रत्येक वर्ष कम्तीमा एकवटा मूर्ति प्रदान गर्ने प्रणसमेत उनको छ ।
पोखरा महानगरपालिकाले कृषि उद्यमशीलता र धार्मिक पर्यटन विकासलाई जोड्दै समग्र पोखराको पहिचान, रोजगारी र समृद्धिमा योगदान पु¥याउने व्यक्तित्वका रूपमा चन्द्रकान्त बराललाई पोखरा रत्न सम्मान–२०८२ प्रदान गरेको जनाएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया