पोखराको गौरवः बहुआयामिक साहित्यकार तीर्थ श्रेष्ठलाई पोखरा रत्न सम्मान

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवसमा साहित्यकार तीर्थ श्रेष्ठलाई पोखरा रत्नबाट पुरस्कृत गरेको छ । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।
नेपालको साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका श्रेष्ठले भाषा, साहित्य संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएका छन्् । ‘पोखरेली समाजको पहिचान, भाषा, संस्कृति र साहित्य प्रवद्र्धनमा तपाईंको योगदान अतुलनीय छ । आगामी दिनमा अझ सिर्जनात्मक योगदानको अपेक्षा गर्दछौं,’ सम्मान पत्रमा लेखिएको छ ।
उनका रचनाहरूमा तीर्थ श्रेष्ठका कविताहरू, जिन्दगीको कुरुक्षेत्रबाट, महाभारतका गीतहरू, मेरै हिमाल जस्तो, जिन्दगीको गोधूलीमा, धसैंधर्साको चक्रव्यूहमा, आमा (मञ्जुल र शिव गौतमसँग संयुक्त) र हिउँमा लेखिएका नामहरू रहेका छन् ।
साहित्यिक क्रियाकलापसँगै श्रेष्ठ सामाजिक, सांस्कृतिक, शैक्षिक र विकास निर्माणका क्षेत्रमा पनि सक्रिय छन् । उनी पोखरा बहुमुखी क्याम्पस र कन्या क्याम्पस पोखराका संस्थापक सदस्य हुने भने बिन्दुबासिनी संस्कृत विद्यापिठका संस्थापक उपाध्यक्ष समेत हुन् । उनी पोखरा उद्योग वाणिज्य संघ, पोखरेली युवा सांस्कृतिक परिवार, पोखरा सांगीतिक कलाकार संघ, अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला पोखरा लगायतका संघसंस्थामा अध्यक्ष, सल्लाहकार र संस्थापक सदस्यको भूमिकामा रहेका छन् ।
तीर्थ श्रेष्ठले पोखरा उपत्यकामा मात्र सीमित नबसी, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली साहित्यको प्रवद्र्धनमा योगदान पु¥याएका छन् । उनले जापान, बेल्जियम, हङकङ, काठमाण्डौ, विराटनगर, हेटौंडा, भरतपुर, भक्तपुर लगायत शहरहरूमा एकल कविता वाचन गरेका छन् । फतेमान, अन्जु पन्त, उदित नारायण, नेपथ्य लगायतका कलाकारसँग मिलेर दर्जनौं गीत रेकर्डिङ गरेका छन् । यसले नेपाली साहित्य र संगीतलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरेको छ ।
तीर्थ श्रेष्ठले नेपाली लेखक संघका केन्द्रीय अध्यक्षको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै साहित्यिक गतिविधिहरूलाई व्यवस्थित र प्रवद्र्धन गरेका छन् । पोखरा तथा पोखरेली समाजको पहिचान, गरिमा र समृद्धिमा उनले सामाजिक, सांस्कृतिक, शैक्षिक, पर्यटन, राजनीतिक, विकास निर्माण र संस्थागत सुदृढिकरणमा बहुआयामिक योगदान दिएका छन् ।
उनले प्राप्त गरेका पुरस्कार र सम्मानको सूची पनि प्रभावशाली छ । तीर्थ श्रेष्ठले पहलमान सिंह स्वार स्मृति प्रतिभा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार, प्रबल जनसेवा श्री पदक, आरोहण काव्य सम्मान विराटनगर, हिमाली सांस्कृतिक परिवार अभिनन्दन, मोती युवा पुरस्कार, भूपी स्मृति साहित्य पुरस्कार, गद्दी आरोहण रजत महोत्सव पदक, प्रतिभा पुरस्कार विराटनगर, लायन्स शताब्दी सम्मान, महाकवि देवकोटा पुरस्कार, कविडांडा साहित्य समाज चितवन सुबर्ण तुलसी काव्य पुरस्कार, गण्डकी प्रज्ञा संस्कृति सम्मान लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान हासिल गरेका छन् ।
साहित्य र सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै श्रेष्ठले आफ्नो जीवनकालभर सामाजिक कल्याणमा समेत योगदान दिइरहेका छन् । उनी पोखरा नगरपालिकाको सल्लाहकार परिषद सदस्य र नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका चयन समितिका सदस्यसमेत रहँदै आएका छन् ।
पोखरा महानगरपालिकाले उनको दीर्घायु, स्वास्थ्य र प्रेरणादायी जीवनको कामना गर्दै आगामी दिनमा अझ सक्रिय, सिर्जनात्मक र बहुआयामिक योगदानको अपेक्षा व्यक्त गरेको छ । तीर्थ श्रेष्ठको सक्रियता र योगदानको परिणामस्वरूप उनी पोखरेली नवरत्न–२०८२ बाट पुरस्कृत भएका हुन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया