भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

समाधान संवाददाता २०८२ पुष ३ गते ६:३५

गण्डकी । भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल ‘इन्फ्लुएन्सर’ सहितको टोलीले पर्वत र बागलुङका धार्मिक गन्तव्यको अवलोकन भ्रमण गरेको छ। बिहीबार पोखरामा आयोजना हुने दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ को पूर्वसन्ध्यामा भारतीय टोलीले बुधबार यस क्षेत्रको भ्रमण गरेको हो।

टोलीले पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणी धाम, बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर र शालिग्राम संग्रहालयको अवलोकन गरेको थियो। भ्रमणका क्रममा आयोजित अन्तरक्रियामा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले धवलागिरि क्षेत्र धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण रहेको बताए। ‘पर्वत, बागलुङलगायत सिंगो धवलागिरि र प्रदेशमा महत्त्वपूर्ण धार्मिक सम्पदा र तीर्थस्थल छन्,’ मन्त्री बस्यालले भने, ‘प्रकृति र संस्कृतिले पनि यो क्षेत्र धनी छ, यिनको विकासमा सबैले हातेमालो गर्न जरुरी छ।’ उनले यस भ्रमणले भारतीय धार्मिक पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

Advertisement

पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले नेपालमा धेरै पर्यटक पठाउने भारतीय टुर अपरेटर कम्पनीका प्रतिनिधि भ्रमणमा सहभागी रहेको जानकारी दिए। सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न ‘इन्फ्लुएन्सर’ हरू पनि सहभागी भएकाले गन्तव्य प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध सुदृढ हुने बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रेम भट्टराईले पर्यटन क्षेत्रका सम्भावना पहिल्याउन कार्यक्रम फलदायी हुने उल्लेख गरे। गण्डकी प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष अर्जुन चोखालले भारतीय पर्यटक आकर्षित गर्न सके पर्यटनले फड्को मार्ने धारणा राखे। भ्रमणमा सहभागी भारतको उत्तर प्रदेश पर्यटन विभागका सहनिर्देशक दिनेशकुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउने प्रतिबद्धता जनाए।

Advertisement

भ्रमणका क्रममा धार्मिक स्थलहरूको महत्त्वबारे जानकारी गराइएको थियो। कालिका मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले मन्दिर ५ सय वर्ष पुरानो रहेको जानकारी दिए। यस्तै, बागलुङ–४ कुँडुलेस्थित शालिग्राम संग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले सुरुङभित्र बनेको संरचनामा सवा लाख शालिग्राम संग्रह गरिएको बताए। पर्वतको मोदीवेणी धामस्थित नृसिंह भगवानको मन्दिरबारे गुठीका अध्यक्ष केशवदास बैरागीले जानकारी दिए। विसं १८९० मा स्थापना भएको यो मन्दिर वैष्णव समुदायको पवित्र तीर्थस्थल हो।

पोखरा पर्यटन परिषद्, गण्डकीको पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा सोमबारदेखि भ्रमण सुरु भएको हो। सुनौली नाका हुँदै चितवनको सौराहा आएको टोलीले मंगलबार तनहुँको बन्दीपुर र कास्कीको बेगनास भ्रमण गरेको थियो।

आयोजकका अनुसार टोलीले आज बिहान पोखराको पुम्दीकोट भ्रमण गर्ने तालिका छ। आज साँझ पोखरामा दुवै देशका सरकारी प्रतिनिधि र व्यवसायीको उपस्थितिमा ‘भारत–नेपाल टुरिज्म मिट’ आयोजना हुनेछ। रासस


तपाईको प्रतिक्रिया