८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता

समाधान संवाददाता २०८२ पुष ३ गते १३:०६

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले बुढेसकालमा आएर नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नाम, थर र वतनको टुंगो नलाग्दा ‘धान्द्रुके बाजे’ उपनामले चिनिने उनले नगरपालिकाको पहलमा नागरिकता पाएका हुन् ।

नागरिकता प्राप्त गरेसँगै उनले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ताबापत पहिलो पटक ८ हजार रुपैयाँसमेत बुझेका छन् । परिचय नखुल्दा उनी लामो समयदेखि नागरिकता र सरकारी सुविधाबाट वञ्चित थिए ।

Advertisement

राष्ट्रिय समाचार समितिमा गत २०८१ फागुन २ गते ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । सञ्चारमाध्यममा उनको अवस्थाबारे समाचार आएपछि बागलुङ नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाले लामो प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर उनलाई नागरिकता दिलाउन सफल भएको पञ्जीकरण शाखाले जनाएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार परिचय नखुलेका कारण कार्यपालिकाको निर्णयपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको हो । खड्काले भने, ‘सानै उमेरमा भकुण्डे आएका तर बोल्न नसक्ने भएकाले उनलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेका थिए । अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिनुभयो ।’

Advertisement

बाँसका चोयाबाट सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका उनको वास्तविक नाम र जन्मस्थान यकिन थिएन । जीवनको उत्तराद्र्धमा उनलाई ‘चन्द्रबहादुर थापा’ नामकरण गरी नागरिकता उपलब्ध गराइएको छ । बोल्न नसक्ने र परिवार सम्पर्कमा नहुँदा उनी वर्षौँदेखि पहिचानविहीन अवस्थामा थिए । रासस


तपाईको प्रतिक्रिया