डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी ।
म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पुरा गर्न चुनौति छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।
पहिलो पटकको म्याद गत जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुनु, राहुघाट सवस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।
एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ७३ वटा टावरको जग राखिएकोमा ६० वटा टावर खडा भएका छन् । रुख काट्नुपर्ने पाँच वटा बाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । तीन किलोमिटरमा तार तान्ने काम पनि सकिएको छ । प्रसारण लाइन र सवस्टेशनको उपकरण आयात भइसकेको छ ।
डाडाखेतको सवस्टेशनमा ९० प्रतिशत, प्रसारण लाइनमा ६५ प्रतिशत र राहुघाट सव स्टेशनमा ६० प्रतिशत प्रगति भएको छ । एलएनटिका आयोजना ब्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थप गरेर मे १६ को म्यादभित्र सम्पन्न गराउने प्रतिवद्धता जनाए ।
एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सव स्टेशन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।
कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एशियाली विकास बैङ्कको ऋण लगानी छ ।
प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न लागि विस २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्विकृति प्रदान गरेको थियो । आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रुख छन् ।
पाँच सय चार रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनको लागि पहिलो किस्ता वापतको रकमसमेत उपलब्ध गराएपनि डिभिजन वन कार्यालयले कटान आदेश दिन ढिलाइ गरेको आयोजना प्रमुख अग्रवालले बताए ।
रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई रु एक करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत रु चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सीनाले बताए ।
म्याग्दी नदीमा १७२/८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५/५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट र २१/३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।
चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपुर्ति गराउन थालेका हुन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया