
गण्डकी ।
नेपालकै एकमात्र सिकार आरक्ष बागलुङस्थित ढोरपाटनको विशाल पाटनमा दगुरिरहेका घोडा यहाँको पर्यटकीय आकर्षण हुन् । ढोरपाटनमा पुग्ने जो कोहीले घोडा चढेर तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । यिनै तस्बिर तथा भिडियो यतिखेर ढोरपाटनको प्रवद्र्धनको राम्रो माध्यमसमेत बनेको छ ।
सामाजिक सञ्जालका माध्यमबाट घोडा चढेका तस्बिर तथा घोडामा शयर गरेका भिडियोहरूकै कारण देश विदेशका विभिन्न ठाउँँबाट पर्यटक ढोरपाटन आउने गरेका छन् । पछिल्ला समयमा ढोरपाटनमा घोडचढी व्यवसाय राम्रैसँग फस्टाएको व्यवसायी बताउँछन् ।
ढोरपाटनमा विगत लामो समयदेखि घोडा शयर गराउँदै आएका ढोरपाटन जाने मार्गस्थित फल्लेघरका बेगबहादुर कामीका अनुसार पछिल्लो समयमा यहाँका घोडापालकले राम्रै आम्दानी गरिरहेका छन् । ढोरपाटनमा सयभन्दा बढी घोडा रहेको बताउँदै उनले घोडाका माध्यमबाट पर्यटकले राम्रै मनोरञ्जन लिने गरेको सुनाए । सामान्यतः एउटा घोडा किन्नका लागि २ लाख लगानी गर्नुपर्छ ।
यस वर्ष चिसो लागिसके पनि फाट्टफुट्ट आएका पर्यटकका कारण यहाँको पर्यटनमा केही राहत भएको व्यवसायी बताउँछन् । यस क्षेत्रमा घोडा शयर प्राचीनकालदेखि नै हुँदै आएकामा यसको आकर्षण अहिले पनि उत्तिकै रहेको कामीको भनाइ छ ।
ढोरपाटनमा आएका पर्यटक घोडामा नै चढेर यहाँका होमस्टे तथा होटेलबाट पाटन क्षेत्र घुम्नुका साथै धार्मिक महत्वको उत्तरगंगा ढोरबराहमा पुग्ने गर्दछन् । सामान्यतः घोडामा शयर नगरी तस्बिरमात्रै खिचेवापत व्यवसायीले पर्यटकबाट १ सय रुपैयाँसम्म लिने गर्दछन् । अन्य भिडियो बनाएको तथा घोडा शयर गरेको थप रकम लिने गरिएको छ ।
व्यवसायीले १५ मिनेट घोडामा शयर गरेको २ सय लिने बताउँदै कामीले माथि दखर्कसम्म पुगेर आएको ३ हजार ५ सयसम्म लिने गरिएको जानकारी दिए । ‘मैले यस क्षेत्रमा सम्भावना देखेर नै विगत ३० वर्षयता घोडा तथा खच्चड पाल्दै आएको छु‘, कामीले भन्नुुभयो, ‘पछिल्लो समयमा सडक यातायातको सुविधा भएसँगै खच्चड पाल्न भने छोडेको छु ।’
कामीका अनुसार सामान्यतः घोडा जन्मिएको ४ वर्षमा घोडा सयर प्रयोजनका लागि दाउने गरिन्छ । दाएर तयार भए पछि मात्र घोडा शयरका लागि प्रयोगमा ल्याइन्छ । प्रत्येक शुक्रबार र शनिबार यहाँको पाटनमा घोडा शयरका लागि आउनेहरूको भीड लाग्ने गरेको छ ।
पर्यटकको बढ्दो आगमनसँगै यहाँको घोडापालन गर्दै आएका स्थानीयको आम्दानी पनि त्यतिकै बढिरहेको छ । पछिल्लो समयमा ढोरपाटनमा पर्यटकीय आकर्षण बढेको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीमगरले जानकारी दिए । पर्यटकको बढ्दो आगमनले यहाँका होटेल व्यवसायी, होमस्टे सञ्चालकका साथै घोडापालक सबैलाई फाइदा पुगेको उनी बताउँछन् ।
पछिल्ला समयमा ढोरपाटनमा घरवाससँगै सुविधासम्पन्न होटेल पनि बनिरहेको बताउँदै उनले यहाँ आउने पर्यटकलाई खान र बस्नको कुनै असुविधा नरहेको बताए । आफूहरूले होमस्टेका लागि प्याकेजसमेत बनाएको जानकारी दिँदै घर्ती मगरले आएका पर्यटकलाई चिया नास्तासहित बेलुका मासुसहितको खाना, सुत्ने कोठा र फर्कदा सादा खानासहित १ हजार २०० को प्याकेज राखिएको छ ।
विशेषतः ढोरपाटनमा फागुनदेखि असोज तिहारसम्म नै पर्यटकको बढी चहलपहल हुने गरेको छ । जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म ढोरपाटन उपत्यकामा ढकमक्क फुल्ने फूलमा घोडा दगुराउने, फोटा तथा भिडियो खिच्ने लहरै चल्दछ । जसले गर्दा यहाँका घोडापालक व्यवसायीको आम्दानी बढेको छ ।
घोडा पालेरै घर खर्च धान्नुुका साथै आयआर्जन बढाएको अर्का घोडा पालक राम विकले बताउने बताए । माथि बुकी पाटनमा फूल फुल्ने समयमा त दैनिक नै राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ । घोडाका लागि राम्रो स्याहारसुसारसँगै पोषक दानाहरू खुवाउनुपर्ने उनको भनाइ छ । पर्यटकको याममा त घोडाको खर्च कटाएरै दैनिक २ हजारसम्म बचत हुने गरेको विकले सुनाए ।
‘घोडापालन हाम्रा लागि राम्रै आम्दानी बनेको छ’, विकले भने, ‘ढोरपाटनमा आएका अधिकांश पर्यटकले घोडा शयर गर्न रुचाउने भएका कारण पनि यो व्यवसाय रोजगारीका लागि महत्वपूर्ण विकल्प बनेको छ ।’

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया