१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा

पोखरा । १८औं संस्करणको ‘हिसान कास्की स्पोर्ट्स मिट २०८२’ बिहीबारदेखि पोखरा रंगशालामा सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि खेलहरू भने बिहीबारबाटै अनौपचारिक रूपमा सुरु भएका हुन्।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीका अनुसार पहिलो दिन छात्रतर्फका भलिबल र बास्केटबलका प्रतिस्पर्धा भएका छन्। प्रतियोगिता संयोजक नवीन बरालले भलिबलतर्फ छात्र विधामा ८ खेल सम्पन्न भएको जानकारी दिए।
बिहीबार भएको भलिबल खेलमा पश्चिमाञ्चलले करुणानिधि माविलाई २५–१७, २५–२० ले तथा माउन्ट अन्नपूर्णले हिल पोइन्टलाई २५–११, २५–१६ को सेटमा पराजित गरेका छन्। त्यस्तै, न्यु ग्यालेक्सीले गण्डकी आदर्शलाई २५–१३, २५–०४ ले, पोखरा आदर्शले पोखरा युनाइटेडलाई २५–१८, २५–१३ ले र वेस्ट पोइन्टले त्रिवेणीलाई २५–२३, २५–१७ ले हराए। युनिभर्सले बालोदयलाई २५–१४, २५–२० ले तथा टप्सले वेलननलाई २५–१४, २५–१४ ले पाखा लगाए। साइनिङ स्टारले भने नेसनल इन्भेन्टिभलाई १३–२५, २६–२४ र २५–२० को संघर्षपूर्ण सेटमा पराजित गर्यो।
बास्केटबलतर्फ छात्र विधामा १६ खेल सम्पन्न भएको संयोजक खिम गुरुङले बताए। पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएका खेलमा लिटल फ्लावरले स्टेप बाइ स्टेपलाई ३१–२०, जुनियर सिटिजन एकेडेमीले माउन्ट अन्नपूर्णलाई ३६–३१ र सोसल पब्लिकले बेथानीलाई २२–१४ को स्कोरमा हराए। यसैगरी, केफले साइनिङ स्टारलाई ३८–२३, न्युलाइटले वेस्ट पोइन्टलाई २१–०९, त्रिवेणीले फेवा शिक्षा सदनलाई २३–१०, एलएले रेन्बोलाई २७–२१ र मदरल्यान्डले लिटिलस्टेपलाई ३२–२७ ले पराजित गरे।
रामघाटस्थित पुन समाजको कोर्टमा भएका खेलहरूमा मनकामना, नव आदर्श, हिल पोइन्ट, टप्स, पोखरा युनाइटेड, शान्ति निकुञ्ज, सिर्जना र मेरीगोल्ड विजयी भएको आयोजकले जनाएको छ।
हिसान कास्कीका सचिव किरण सापकोटाका अनुसार ‘स्पोर्ट्स मिट’ मा छात्र–छात्रातर्फ बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिस खेल समावेश छन्। प्लस टु (कक्षा ११–१२) र विश्वविद्यालयतर्फका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। भलिबलमा छात्रतर्फ ३८ र छात्रातर्फ २४ टिम सहभागी छन्। सबैभन्दा बढी बास्केटबल छात्रतर्फ ४६ र छात्रातर्फ २० टिम भिडेका छन्।
यस्तै, टेबल टेनिसमा छात्र–छात्रा सिंगल्स र डबल्स गरी २५० जना तथा ब्याडमिन्टनमा २५८ जना खेलाडीको सहभागिता छ। विश्वविद्यालयतर्फ भने बास्केटबल, टेबल टेनिस र ब्याडमिन्टनमा मात्र प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कँडेलले जानकारी दिए। उनका अनुसार विजेता विद्यालयलाई रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। टिम च्याम्पियन बन्नका लागि अंक प्रणाली लागू गरिएको छ। हरेक खेलको विजेताले ७, दोस्रो हुनेले ५, तेस्रोले ३ र चौथो हुनेले १ अंक प्राप्त गर्ने सचिव सापकोटाले बताए।
प्रतियोगिता आगामी ७ पुससम्म सञ्चालन हुनेछ। शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा भव्य समारोहबीच औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया