२१औं संस्करणको लेखनाथ महोत्सव
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी

लेखनाथ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने चेतावनी दिएका छन्। लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको २१औं संस्करणको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले आगामी २१ फागुनमा हुने निर्वाचन सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।
पोखरा–२७ तालचोकमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने, ‘फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक संकट आउँछ। राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ, रोजगारी सिर्जना हुन्छ र राजस्व वृद्धि भएर अर्थतन्त्र बलियो बन्छ।’
उनले प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए। उद्योग सञ्चालनमा बाधा पुर्याउने कानुन संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ। मुख्यमन्त्री पाण्डेले उद्योग स्थापनाका लागि पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
युवा पलायन रोक्न रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिएको स्पष्ट पारे। ‘स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर घरेलु मदिरालाई ब्रान्डिङ गरिसकिएको छ,’ उनले भने, ‘गाँजालाई पनि घरेलु औषधिका रूपमा प्रयोगमा ल्याउने तयारीका साथ सरकार अघि बढेको छ।’ उनले मुस्ताङ र तिब्बत जोड्ने कोरला नाकाले गण्डकीको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा गण्डकीका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले व्यवसायीको मनोबल उकास्न सरकारले काम गरिरहेको बताए। वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिना अर्थतन्त्र बलियो नहुने भन्दै सहकार्यमा जोड दिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। उद्घाटन सत्र संघकी अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
पहिलो दिनमै सवा करोडको कारोबार
महोत्सवको पहिलो दिन बिहीबार ४५ हजार दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए। उनका अनुसार पहिलो दिन १ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक आउने र ९ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ। भट्टराईका अनुसार महोत्सवबाट ९५ लाख आम्दानी र ८५ लाख खर्च भई १० लाख रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ। बचत रकम नवउद्यमी उत्पादन, उद्यमशीलता विकास र सामाजिक कार्यमा खर्च गरिने संघले जनाएको छ।
‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित सुरु भएको महोत्सव १४ पुससम्म चल्नेछ। महोत्सवमा औद्योगिक व्यापार, स्थानीय कला संस्कृति, हस्तकला, सूचना प्रविधि, अटोमोबाइल तथा वित्तीय संस्थाका स्टल राखिएका छन्।
प्रायोजक व्यवस्थापन उपसमिति संयोजक विक्रम कर्माचार्यका अनुसार महोत्सवको मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनी प्रालि रहेको छ। सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौंडा डेरी रहेका छन्। त्यस्तै, प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन्।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया