जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती

समाधान संवाददाता २०८२ पुष ४ गते ५:५०

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाका कारण गाउँ नै धुलाम्मे भएको छ। आयोजना स्थलमा चल्ने डोजरले फ्याँक्ने माटो र निर्माण सामग्री बोक्ने मालवाहक सवारीसाधनले उडाउने धुलोका कारण वायु प्रदूषण बढ्दा स्थानीयको जनजीवन कष्टकर बनेको हो।

धुलोका कारण सडकमा हिँडडुल गर्न समस्या हुनुका साथै गाईवस्तुको चरन क्षेत्र र घाँसपातसमेत नष्ट भएको छ। गाउँपालिकाका मुदी, खिवाङ, बगर, खाम्ला, बास्बोट, सोलवाङ, दर, फलीयागाउँ, खोरवाङ, कौछीनी, बाँसबोट र नाउराका बासिन्दा धुलोले आजित भएका छन्। स्थानीयका अनुसार धवलागिरि–४ छहरीदेखि खारा हुँदै खाम्ला र वडा नम्बर ३ दरदेखि सिम्वाङ हुँदै मुदी जोड्ने सडकमा प्रदूषण अत्यधिक बढेको छ।

मुना–दर–मुदी सडकको सिम्वाङ क्षेत्रमा दरखोला जलविद्युत् आयोजनाले पाइप लाइनका लागि भित्ता काटिरहेको छ। यस्तै, छहरी–खारा–खाम्ला खण्डमा अपर म्याग्दी, अपर म्याग्दी–१ र म्याग्दीखोला लगायतका आयोजनाका ट्रक तथा टिपर ओहोरदोहोर गर्छन्।

Advertisement

धवलागिरि–४ खिवाङका लीलबहादुर घर्तीले सडकको धुलोले खेतीबाली र स्वास्थ्यमा असर पारेको गुनासो गरे। ‘विकासका आयोजना भित्रिएकामा खुसी भएका हामी हरियाली वनपाखा र हराभरा बगैंचा धुलाम्मे हुँदा दुःखी छौँ,’ उनले भने, ‘विकास होस् तर विपद् र वातावरण विनास नहोस् भन्ने हाम्रो अपेक्षा हो।’

खाराका ज्ञानबहादुर पुनले गाईवस्तुलाई खुवाउने घाँस र तरकारीको पातभरि धुलो थुप्रिएर खान नमिल्ने भएको बताए। पानीको स्रोतसमेत दूषित भएको उल्लेख गर्दै उनले भने, ‘बगैंचा, खेतबारी र घाँसदाउराका लागि बाहिर निस्कँदा शरीरभरि धुलो हुन्छ। खकार र सिगानमा पनि धुलो मिसिएको आउन थालेको छ।’ खाम्लाका केशरमान पुनले गाडीको सिसा थुन्दा उकुसमुकुस हुने र खोल्दा धुलो पस्ने समस्या रहेको सुनाए। उनले आयोजनाले सडकमा पानी नहाल्दा प्रदूषण बढेको बताए।

Advertisement

धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले जलविद्युत् आयोजनाहरूले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनको प्रतिबद्धता पालना नगरेको बताए। कात्तिक दोस्रो सातादेखि वर्षा नहुँदा सुख्खा बढेर समस्या जटिल बनेको उनको भनाइ छ।

अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले भने मालिका–७ भारवाङदेखि छहरी र खाम्लादेखि बाँधस्थलसम्म ट्यांकरबाट पानी हालेर धुलो नियन्त्रणको प्रयास गरेको जनाएको छ। अपर म्याग्दी जलविद्युत् आयोजनाले पनि घिम्लेटीदेखि चेचुङको फेदीसम्म पानी हाल्ने गरेको छ। वडासदस्य हरिप्रसाद तिलिजाले धुलो नियन्त्रणका लागि आयोजनालाई सचेत गराइएको बताए।

अपर म्याग्दी–१ का प्रमुख ज्योतिकुमार केसीले सडक स्तरोन्नतिको जिम्मा पाएको सहायक ठेकेदारले समयमा काम नगर्दा धुलो नियन्त्रणमा कठिनाइ भएको बताए। ‘सिभिल ठेकेदार लुना बिल्डर्समार्फत जिम्मा लिएका स्थानीय सब–कन्ट्र्याक्टरले नाली र सोलिङको काममा ढिलाइ गरे,’ उनले भने।

यता लुना बिल्डर्सका सहायक ठेकेदार एवं चोचाङ्गी पुन कन्ट्रक्सनका सञ्चालक दलमान पुनले भने आफ्नो जिम्मेवारी सडक संरचना बनाउने मात्र भएको दाबी गरे। ‘धुलो मार्ने काम आयोजनाकै हो। धुलोले हाम्रा मजदुरलाई पनि काम गर्न समस्या भएको छ,’ उनले भने।

अपर म्याग्दी आयोजना प्रमुख रमेश सुवेदीले आफ्नो क्षेत्रमा धुलो नियन्त्रण गरेको र थप खण्डमा म्याग्दीखोला जलविद्युत् आयोजनासँग साझेदारी गरिने बताएका छन्।रासस


तपाईको प्रतिक्रिया