पोखरामा 'हरित रोजगारी' को लहर

फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना

समाधान संवाददाता २०८२ पुष ४ गते १२:२८
Untitled design - 1

पोखरा । पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनलाई उद्यमशीलतासँग जोड्दै ‘हरित रोजगारी’ सिर्जना गर्ने महत्त्वाकांक्षी परियोजना अघि बढेको छ । ल्यान्डफिल साइटमा जाने फोहोरलाई मूल्यवान स्रोतमा रूपान्तरण गरी वातावरण संरक्षणसँगै रोजगारी बढाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल र पोखरा महानगरपालिकाको त्रिपक्षीय साझेदारीमा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङ’ परियोजनाले पोखराको फोहोर व्यवस्थापन प्रणालीलाई नै बदल्ने लक्ष्य राखेको छ ।

परियोजनाको मुख्य ध्येय दिगो फोहोर व्यवस्थापनमार्फत हरित उद्यमशीलता विकास गरी रोजगारीको अवसर बढाउनु हो । यसका लागि पोखरामा १ सय ३६ भन्दा बढी समुदायस्तरीय रिसाइक्लिङ र अपसाइक्लिङ समूह विकास गर्ने लक्ष्य लिइएको छ । यी समूहहरूले परियोजनाअन्तर्गत स्थापना हुने ३० वटा साना तथा मझौला उद्यमलाई मूल्य शृङ्खलामा सहयोग पुर्‍याउनेछन् ।

Advertisement

परियोजनाका अनुसार यो प्रक्रियामार्फत पोखरामा प्रत्यक्ष रूपमा ९ सयभन्दा बढी हरित रोजगारी सिर्जना हुने अपेक्षा छ ।

हालसम्म परियोजनाले ७ वटा समूह गठनमा सहयोग गरिसकेको छ भने ४ वटा रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यम सञ्चालनमा आइसकेका छन् । सन् २०२५ भित्र थप ६ वटा नयाँ उद्यम स्थापना गर्ने योजना रहेको छ, जसले पोखराको हरित अर्थतन्त्रलाई थप टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

Advertisement

उद्यम विस्तारसँगै कानुनी र बजार व्यवस्थापनको ज्ञान आवश्यक पर्ने भएकाले परियोजनाले हालै तीनदिने कानुनी अनुपालन, व्यवसाय व्यवस्थापन तथा मार्केटिङसम्बन्धी तालिम सञ्चालन गरेको छ । उक्त तालिम सिनर्जी बिजनेस एडभाइजर्सले सहजीकरण गरेको थियो ।

फोहोर व्यवस्थापनको काममा खटिने श्रमिकहरू स्वास्थ्य तथा सुरक्षा जोखिममा पर्न सक्ने भएकाले परियोजनाले विशेष सतर्कता अपनाएको छ । समूहहरूका लागि चाँडै तीनदिने ‘स्वास्थ्य तथा सुरक्षा जोखिम व्यवस्थापन’ सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ । परियोजनाका अनुसार यो तालिमलाई उद्यम विकास प्रक्रियाको अभिन्न अंगका रूपमा राखिएको छ ।

‘उद्यम विकास प्रक्रिया जटिल र समयसापेक्ष हुने भएकाले निरन्तर सहयोग र व्यावहारिक ज्ञान अपरिहार्य छ,’ परियोजनाले जनाएको छ । आरयु समूहकी संस्थापक लेखमाया थापा मगरले तालिमबाट व्यवसायलाई व्यवस्थित गर्न र फोहोरसँग काम गर्दा सुरक्षा अपनाउन ठूलो मद्दत मिलेको बताइन् ।

जिसिआरयु परियोजनाले रिसाइक्लिङ, अपसाइक्लिङ र उद्यमशीलतालाई एकीकृत गर्दै पोखराका वातावरणीय चुनौतीलाई आर्थिक अवसरमा बदल्ने प्रयास गरिरहेको छ । यसले समावेशी र दिगो हरित रोजगारीको मार्ग प्रशस्त गरेको सरोकारवालाहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया