पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ

पोखरा । कास्की प्रहरीले वृद्धाहरूको कानको रिङ र गहना लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाका विभिन्न स्थानमा एकै दिन दुई वृद्धालाई लछारपछार पारी गहना लुट्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय सुशील नेपाली, पोखरा–२३ घर भई भीमकालीपाटन बस्ने २७ वर्षीय आशिष नेपाली सुनार, पोखरा–२३ बस्ने १८ वर्षीय विजय पराजुली छन् ।
यस्तै, लुटिएको गहना बिक्रीवितरणमा संलग्न आशिषकी श्रीमती २१ वर्षीया अस्मिता नेपाली र चोरीको सुन खरिद गर्ने पोखरा–१ का ५३ वर्षीय तुलबहादुर विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीका अनुसार पुस १ गते दिउँसो पौने ४ बजे माछापुच्छ्रे गाउँपालिका–६ ठूलोकुनामा ८२ वर्षीया वृद्धालाई स्कुटरमा आएका तीन जनाले लछारपछार पारी कानको सुनको रिङ लुटेर फरार भएका थिए । त्यसको केही समयपछि पौने ५ बजे पोखरा–१९ पुरनचौरमा ६५ वर्षीया महिलाको पनि त्यसैगरी कानको रिङ लुटपाट भएको थियो ।
लगातार लुटपाटका घटना भएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले अनुसन्धान गर्दा आशिष, विजय र सुशीलको संलग्नता खुलेको हो । उनीहरूले प्रयोग गरेको ग६प ५१८२ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ ।
अनुसन्धानका क्रममा आशिषको कोठा खानतलासी गर्दा सिरानीमुनि लुकाएको २ थान सुनको रिङ, २ थान बाला र ६० हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
साथै, आशिष र उनकी श्रीमती अस्मिताले लुटिएको एक जोर रिङ पोखरा–१ स्थित मुक्तिनाथ सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ । प्रहरीले उक्त पसलका सञ्चालक तुलबहादुर विश्वकर्मालाई पनि पक्राउ गरेको छ । पसलमा खानतलासी गर्दा रिङ पगालेर डल्लो पारिएको अवस्थामा २४ लाल ९ प्वाइन्ट सुन बरामद भएको छ ।
पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया