सामुदायिक स्कुल विकासका प्रयास

समाधान संवाददाता २०८२ पुष ५ गते १८:०५

हिजो जस्तै लाग्छ, म काजीमान हरिटीका माविको व्यवस्थापन समितिको अध्यक्ष चयन भएको । तर आज तीन वर्षे कार्यकालको अन्तिम–अन्तिम समय आइपुगेछ । करिब तीन वर्षअघि जब म यस श्री काजीमान हरिटिका माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा चयन भएँ, तब सामुदायिक विद्यालयमा उत्साह र सम्भावना दुवै थियो, तर चुनौतीहरु पनि उत्तिकै थिए । अध्यक्षको रूपमा यो जिम्मेवारी केवल पदमात्र होइन, समुदाय, विद्यार्थी र भविष्यप्रतिको प्रतिबद्धता भएको मैले पहिलो दिनदेखि नै महसुस गरेँ , आज यो कार्यकाल अन्त्यतिर आइपुग्दा विद्यालयले गरेको प्रगति, परिवर्तन र उपलब्धिहरु हेर्दा गर्वको अनुभूति हुन्छ ।

समितिको नेतृत्व र मेरा प्राथमिकता
विद्यालयको विकासका लागि समितिको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । नीति निर्देशन, योजना, कार्यान्वयन, निगरानी र मूल्यांकन सबै यही समितिबाट सुरु हुन्छ । म अध्यक्ष बनेपछि मेरो पहिलो प्राथमिकता शिक्षा, भौतिक संरचना, अनुशासन र व्यवस्थापन सबै क्षेत्रमा सन्तुलित सुधार गर्नु थियो । विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी कार्यान्वयनमा लाग्ने मेरो प्रयासले समुदाय, शिक्षक, स्थानीय तह र प्रदेश सरकारको विश्वास पनि बढाउँदै लग्यो ।

३ वर्षमा भएका प्रमुख काम
मेरो तीन वर्षे कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी धेरै कामहरु सम्पन्न भए । विद्यालय बस खरिद गर्नु विद्यालयको इतिहासमै महत्वपूर्ण उपलब्धि रह्यो । यसका लागि प्रदेश सरकार, पुतलीबजार नगरपालिका र स्थानीय जनसमुदाय सबैको सक्रिय सहयोग जुटाउन हामी सफल भयौँ । बस सञ्चालन भएपछि विद्यार्थी आवागमन सहज भयो, विद्यालयप्रतिको आकर्षण बढ्यो र अभिभावकको विश्वास झनै मजबुत बन्यो ।

Advertisement

भौतिक सुधारतर्फ पनि हामीले उल्लेख्य काम गर्‍यौँ । छत चुहिने कक्षाहरु, अव्यवस्थित भवन, कमजोर सुरक्षा जस्ता समस्या क्रमशः समाधान गर्दै ’विद्यालयलाई सुरक्षित, सुन्दर र व्यवस्थित बनाउने अभियान’ सञ्चालन गरियो। यसले विद्यालय वातावरणमै नयाँ ऊर्जा थपियो ।

शिक्षा क्षेत्रमा समयसँगै पढाउने तरिकामा पनि परिवर्तन आउनु आवश्यक छ । परम्परागत शैलीमा शिक्षकहरु डस्टर र मार्कर बोकेर विद्यार्थी भएको कक्षामा जाने चलन थियो, तर अहिले हामीले नयाँ र प्रभावकारी अवधारणा अनुसार ‘विद्यार्थी शिक्षकको कक्षामा जाने’ परिपाटीको सुरुवात गरेका छौँ । यसलाई ‘सब्जेक्ट बेस्ड क्लासरुम’ प्रणाली भनिन्छ । यो विधिमा शिक्षक होइन, विद्यार्थीहरु विषय अनुसारको कोठामा पढ्न जान्छन् ।

Advertisement

हरेक कक्षाकोठामा सम्बन्धित विषयका नक्सा, चार्ट र उपकरणहरु पहिल्यै हुने हुँदा विद्यार्थीले रटेरभन्दा पनि देखेर प्राक्टिकल नलेज हासिल गर्छन् । दिनभर एउटै कोठामा बस्नुको साटो कक्षा फेरिँदा हिँडडुल हुने हुनाले विद्यार्थीहरु अल्छी मान्दैनन् र घुमी–घुमी पढ्दा उनीहरुलाई सधैं फ्रेस र सक्रिय महसुस हुन्छ ।

विद्यार्थी अनुशासनमा पनि हामीले सुधार ल्यायौँ । नियमित हाजिरी, पहिरन, कक्षाकोठाको व्यवहार, समयपालन यी सबै क्षेत्रमा सुधार ल्याउन विद्यालयमा सुसंगठित अनुशासन प्रणाली लागू गरियो । यसले विद्यालयको समग्र शैक्षिक वातावरणमा सकारात्मक असर पारेको छ । विद्यालय बाहिर अनियन्त्रित रूपले विद्यार्थी नजाऊन् भन्ने उद्देश्यले कम्पाउन्ड गेट निर्माण एवं व्यवस्थापन गरियो । अब विद्यार्थी सुरक्षित रूपमा विद्यालय परिसरमै रहन्छन्, जसले सुरक्षा र अनुशासन दुवैमा सुधार ल्यायो ।

आधुनिक शिक्षा आइसिटीको प्रयोग बिना कल्पना गर्न सकिँदैन । विद्यालयमा कम्प्युटर प्रयोग, अनलाइन स्रोतहरु र प्रोजेक्टरमार्फत अध्यापन जस्ता प्रविधिमैत्री अभ्यास सुरु गरियो तर आर्थिक अभावका कारण सोचे अनुसारको सफलता प्राप्त हुन सकेन ।

यी सुधारकै फलस्वरूप विद्यार्थी संख्या ६५ बाट २५० पु¥याउन हामी सफल भयौँ । यो विद्यालयको इतिहासकै सबैभन्दा ठूलो परिवर्तन हो । हाम्रो विद्यालयमा विद्यार्थी संख्या ६५ बाट बढेर २५० पुग्नु सामान्य उपलब्धि होइन । हामीले सब्जेक्ट बेस्ड क्लासरुम जस्ता आधुनिक र व्यावहारिक शिक्षण विधि लागू गरी शिक्षाको गुणस्तरमा सम्झौता गरेनौँ । यही सुधारले गर्दा आज अभिभावकको विश्वास जित्न सफल भएका छौँ ।

यो सफलता एक्लो प्रयास नभई हाम्रा शिक्षक, अभिभावक र समुदायको सामूहिक मिहिनेतको फल हो । अध्यक्षको नाताले म सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा दिने प्रतिबद्धता जनाउँछु ।

विद्यार्थीको सर्वांगीण विकासका लागि हरेक शुक्रबारलाई सिर्जनात्मक गतिविधिमा केन्द्रित गर्दै बुक फ्रि डेको सुरुवात गरियो । यसले विद्यार्थीको आत्मविश्वास, संवाद कौशल, नेतृत्व क्षमता र व्यावहारिक ज्ञान उत्कृष्ट रूपमा विकास गर्न सहयोग गर्‍यो । त्यस्तै विद्यार्थी नेतृत्वमा कार्यक्रम सञ्चालन गर्ने नौलो अभ्यास पनि हामीले थाल्यौं । अब विद्यालयमा आयोजना हुने हरेक कार्यक्रमको स्वागत, सञ्चालन, समन्वयदेखि प्रस्तुतिसम्मको सम्पूर्ण बागडोर शिक्षकले नभई स्वयं विद्यार्थीहरुले नै सम्हाल्छन् ।

यो व्यवस्थाले विद्यार्थीहरुलाई केवल स्रोता मात्र नबनाई सक्रिय आयोजक बनाएको छ । मञ्चमा उभिएर कार्यक्रम हाँक्ने यो अभ्यासले उनीहरुको कन्फिडेन्स ह्वात्तै बढाएको छ। साथै यसले विद्यार्थीहरुमा जिम्मेवारी बोध गराउँदै उनीहरुको लिडरसिप स्किलमा उल्लेखनीय र चमत्कारिक वृद्धि गराएको छ, जुन किताबी ज्ञानभन्दा निकै महत्वपूर्ण छ।

प्राप्त सम्मान र उपलब्धिहरु
हाम्रो विद्यालयले छोटो समयमै गरेका शैक्षिक तथा भौतिक सुधारका नमुना कार्यहरुको उच्च कदर गर्दै हामीले गर्व गर्न लायक दुई ऐतिहासिक राष्ट्रिय उपलब्धिहरु हासिल गरेका छौं । २०८० सालमा नेपाल सरकारद्वारा प्रदान गरिएको राष्ट्रिय शिक्षा पुरस्कार हाम्रो व्यवस्थापकीय उत्कृष्टताको सरकारी मान्यता हो । जसले समितिको कामको प्रभावकारितालाई स्पष्ट पारेको छ । त्यसैगरी २०८१ सालमा विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालबाट प्राप्त उत्कृष्ट विद्यालय व्यवस्थापन समिति पुरस्कार’ ले हाम्रा हरेक सुधारात्मक गतिविधिहरु सही र उत्कृष्ट छन् भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।

यी सम्मानहरु केवल प्रमाणपत्र मात्र नभई हाम्रा अभिभावक, शिक्षक र विद्यार्थीहरुको सामूहिक मिहिनेत, एकता र विश्वासको प्रतिफल हुन् । सामुदायिक विद्यालय परिवर्तन गर्न समुदायकै हातमा शक्ति छ । अध्यक्षको रूपमा पछिल्ला तीन वर्ष मेरो जीवनका महत्वपूर्ण सन्दर्भहरु बने । विद्यालय सुव्यवस्थित भयो, आकर्षक बन्यो, सुरक्षित बन्यो, प्रविधिमैत्री बन्यो र समुदायको गर्व बन्न सफल भयो ।

अन्तमा सामुदायिक विद्यालयको मुहार फेर्न सरकार वा अरु कसैको मुख ताक्नु पर्दैन, त्यो असीम शक्ति र साँचो स्वयं समुदायकै हातमा हुन्छ । जब समुदायले आफ्नो विद्यालयलाई सरकारी नभई हाम्रो भनेर अपनत्व लिन्छ, तब जस्तोसुकै कठिन परिवर्तन पनि सम्भव हुन्छ । हाम्रो विद्यालयको यो सफलताले यही प्रमाणित गरेको छ कि जब समुदाय जाग्छ, तब विद्यालय अवश्य चम्किन्छ । आज श्री काजीमान हरिटिका माविले पाएको विश्वास, सम्मान र सफलताहरु सामूहिक प्रयास, सकारात्मक सोच र पारदर्शी व्यवस्थापनको उत्कृष्ट उदाहरण हुन् । म भविष्यमा पनि विद्यालयलाई अझ सशक्त, सक्षम र नमुना सामुदायिक विद्यालय बनाउन निरन्तर प्रतिबद्ध रहनेछु ।

श्रेष्ठ काजीमान हरिटिका माध्यमिक विद्यालय, पुतलीबजार ३ स्याङ्जाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया