पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’

समाधान संवाददाता २०८२ पुष ५ गते १९:२२

पोखरा । स्वास्थ्य प्रवद्र्धन, वातावरण संरक्षण र पर्यटन विकासलाई एउटै अभियानमा जोड्दै साइकल सिटी पोखराले शनिबार ‘आठौँ टुर दि पोखरा’ गरेको छ । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल यात्रा भन्ने मूल नारासहित कार्यक्रम गरिएको हो ।

पोखरा महानगरपालिकाको पर्यटन भ्रमण वर्ष २०२५, स्वच्छ सहर, हरित सहर अवधारणालाई आत्मसात् गरी सञ्चालन गरिएको साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिए । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराका ९ ताललाई जोड्न १सय १७ किमी लामो लेकटुलेक साइकल लेन बनाउने बताए । संस्थाले पोखरामा साइकल सिटीको अवधारणाको विकास गरेको जानकारी दिदै उनले टुर दि पोखराले पोखरा भ्रमण वर्षलाई सहयोग पुग्ने चर्चा गरे ।

पोखरा प्रकृति, संस्कृति र सहासिक पर्यटनले चिनिएको उल्लेख गर्दै उनले साइकिलिङ साहसिक पर्यटनमा पर्ने बताए । पोखरा महानगर कार्यक्रमको मुख्य प्रवद्र्धक बनेर कार्यक्रमलाई ७ लाख सहयोग गरेको जानकारी दिदै मेयर आचार्यले साइकल यात्रा प्रतिस्पर्धा नभएर प्रवद्र्धन भएको उल्लेख गरे ।

Advertisement

साइकल सिटी पोखराका सचिव रामचन्द्र भट्टले टुर दि पोखरा साइकल यात्रामार्फत पोखरा र वरपरका पर्यटकीय गन्तव्यहरूको पहिचान गराउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने जानकारी दिए । उनले साइकल यात्रीहरूलाई हरित क्रान्तिको सन्देश प्रवाह गर्दै वातावरणमैत्री यात्राको महत्वबारेमा अवगत गराइएको बताए ।

कार्यक्रममा नेपालभरका ३२ जिल्लाका साइकल यात्रीहरू तथा छिमेकी मित्रराष्ट्र भारत लगायत अन्य केही देशबाट समेत गरी करिब १ हजार २ सय ५० जना साइकल यात्री सहभागी भएका छन् । टुर दि पोखराको साइकल यात्रा करिब ५१ किलोमिटर दूरीको छ । कार्यक्रममा विश्व साइकल यात्री सगरमाथा आरोहण गरेका पुष्कर साह र अजित बराल, सामाजिक अभियन्ता राजाराम तन्डुकार, मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, साइकल सिटी पोखराका सल्लाहकार निरज थापा लगायत सहभागी थिए । पोखरा सभागृहमा सुरु भएको साइकल यात्रा सिर्जनाचोक, सिद्धार्थचोक, बगर, लामाचौर, अकलादेवी मन्दिर, पुरुन्चौरहुँदै सार्दीखोलाको गण्डकी ट्राउट फार्म भएर फर्केर अकला, महेन्द्रगुफा, बगर, महेन्द्रपुल, मुस्ताङचोकहुँदै घारीपाटनस्थित कान्तिपुर गार्डेन बाटिका पुगेर समापन भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया