समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला

पोखरा । साहित्य, संगीत र कलाको क्षेत्रमा विसं २०३४ देखि निरन्तर क्रियाशील संस्था पोखरेली युवा सांस्कृतिक परिवारले आफ्नो नियमित मासिक काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला शनिबार पोखरामा सम्पन्न गरेको छ। कार्यक्रममा पोखरा महानगरपालिकाद्वारा हालै ‘पोखरेली नवरत्न’ बाट सम्मानित सुप्रसिद्ध कवि तीर्थ श्रेष्ठ प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए।
कवि श्रेष्ठले समता काव्य सन्ध्यामा आफूलाई पुनर्मिलन भएको महसुस भएको बताए। उनले रती भट्टराई, भोजबहादुर जिसी, विद्या विमल बराल र धनप्रसाद तामाङ जस्ता पुराना साहित्यकारसँग भेट हुनु खुसीको कुरा भएको उल्लेख गरे।
‘नयाँ र पुराना कविहरु समता काव्य सन्ध्यामा भेट भई सिक्ने र सिकाउने काम हुन्छ, यसले कविता जन्मने प्रक्रियाको थालनी गर्छ’, श्रेष्ठले भने, ‘कविता लेख्न जीवनप्रति दृष्टिकोण, साधना र मौलिक शैलीको विकास हुनुपर्छ।’ उनले सबै कविताले पाठक र स्रोतालाई नछुने भन्दै लेखिएका र छापिएका सबै सिर्जना कविता नहुने धारणा राखे। पाठकको मनमा रहिरहने सिर्जना नै वास्तविक कविता भएको र कविता कति लेखियो भन्नुभन्दा पनि कस्तो लेखियो भन्ने कुरा महत्वपूर्ण हुने उनले बताए।
कार्यक्रममा पोखराका स्थापित कविहरु एवं संस्थाका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, सल्लाहकार दीपक समीप, ढाकामोहन बराल, शीतल गिरी, शिव त्रिपाठी, अमृत क्षेत्री, सुरज पौडेल र विद्या विमल बरालले आफ्ना सशक्त कविता वाचन गरे। त्यसैगरी हेमराज बास्तोला, भूमिराज बास्तकोटी, कौशलचन्द्र जिसी, संजना गिरी, अनिल कार्की, लोचना अधिकारी, हेमन्त हितैषी र रती भट्टराईले पनि सिर्जना प्रस्तुत गरेका थिए।
परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम संचालन गरेका थिए।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया