‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’

समाधान संवाददाता २०८२ पुष ५ गते १९:४०

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन केन्द्रीत भई चुनावी तयारी र राजनीतिक सहकार्यलाई सँगसँगै लगेको नेता शिशिर खनालले जनाएका छन् । रास्वपा केन्द्रीय सचिवालय सदस्य खनालले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनबाट देशको सबैभन्दा ठूलो शक्ति रास्वपा बन्ने जिकिर गरे ।

उनले पुराना दलहरुसँग चुनावी गठबन्धन नगर्ने तर नयाँ दलहरुसँग सहकार्य र गठबन्धन हुन सक्ने उल्लेख गरे । ‘हाम्रो पुराना दलहरुसँग चुनावी गठबन्धन गर्दैनौँ भन्ने नीति छ,’ नेता खनालले भने, ‘नयाँ र विचार समान भएका दलहरुसँग सकेसम्म एकता, त्यसो तत्काल सम्भव नभए चुनावी गठबन्धन हुन सक्छ ।’

रास्वपाको उच्चस्तरीय वार्ता समितिका उपसंयोजकसमेत रहेका खनालले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरका प्रमुख बालेनसँग सहकार्यका लागि छलफल जारी रहेको सुनाए । पार्टीका गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार छनोट प्रक्रियाबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले गण्डकीबाट ४३ जना समानुपातिका उम्मेदवारहरु सूचीकृत भएको उल्लेख गरे । निश्चित विधि र मापदण्डका आधारमा उम्मेदवारहरु छनोट हुने उनको भनाइ छ ।

Advertisement

‘देशभरबाट दुई सय ३० जना र गण्डकीबाट ४३ जनाको उम्मेदवारी दर्ता भएको छ,’ खनालले थपे, ‘यो सूचीबाटै गण्डकीबाट १३ जना र देशभरबाट एक सय १० जनाको छनोट गरिन्छ ।’
उम्मेदवारी दर्ता गराइसकेका समानुपातिक उम्मेदवारको पुस ३ र ४ गते दाबीविरोधको समय रहेकोमा गण्डकीमा कसैविरुद्ध पनि दाबीविरोध परेन । शनिबार उम्मेदवारहरुबिच छलफल गरी अन्तिम नामावली प्रकाशन, पुस ६ देखि ११ गतेसम्म उम्मेदवारीका विभिन्न चरण पार गर्दै १२ र १३ गते प्राइमरी इलेक्सन हुनेछ ।

एपबाट भएको प्राइमरी चुनावका विजेतालाई समेटेर १४ गते उम्मेदवारहरुको नामावली निर्वाचना आयोगमा बुझाइने पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया